काठमाडौं । संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त भएका छन् ।राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार पाण्डेयलाई संघीय संसदको महासचिवमा नियुक्त गरेका पौडेलका कानुनी सल्लाहकार बाबुराम कुँवरले जानकारी दिए ।महासचिवमा नियुक्तिअघि पाण्डेयले मंगलबार नै प्रतिनिधि सभाको सचिव पदबाट राजीनामा दिएका थिए ।राष्ट्रपति पौडेलले उनको राजीनामा स्वीकृत गरेर महासचिवमा नियुक्त गरेका हुन् ।
सचिव पदबाट दिएको राजीनामा स्वीकृत गरेपछि महासचिवका लागि भएको सिफारिस अनुसार नियुक्ति भएको राष्ट्रपतिका कानुनी सल्लाहकार कुँवरले जानकारी दिए ।गत मंसिर २५ गते सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सनाले पाण्डेयलाई महासचिवमा सिफारिस गरेका थिए ।
तर, तत्कालीन महासचिव भरतराज गौतमको राजीनामा स्वीकृत नभएको, पाण्डेयले प्रतिनिधि सभाको सचिव पदबाट राजिनामा नदिएको आदि कारणलाई देखाउँदै रीत नपुगेको भनी पौडेलले सिफारिस अनुसार महासचिव नियुक्त गरेका थिएनन् ।यसबीचमा सभामुख घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले नियुक्ति सिफारिस कार्यान्वयन नभएको भनी स्मरण पत्र लेखेका थिए । माघ ३ गते गएको स्मरण पत्र र प्रतिनिधि सभाको सचिवबाट पाण्डेयले राजीनामा समेतलाई आधार मानेर सिफारिस अनुसार नियुक्ति भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।