चाँडै योग्य उपकुलपति सिफारिस गर्न पूर्व उपकुलपतिहरुको आग्रह
zeenepal
२०८० माघ २६,
3
Shares
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस समितिलाई चाँडै योग्य उपकुलपति सिफारिस गर्न पूर्व उपकुलपतिहरुले आग्रह गरेका छन् ।पूर्व उपकुलपतिहरु महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, कमलकृष्ण जोशी र नविन जंग शाहले शुक्रबार विज्ञप्ति जारी गर्दै त्रिविलाई थप समय नेतृत्वविहीन नबनाउन अनुरोध गरेका छन् ।उनीहरुले विज्ञप्तिमा भनेका छन् ‘त्रिभुवन विश्वविद्यालय नेतृत्वविहीन रहेको लामो समय व्यतित भइसकेको छ । अब अरु ढिलो नगरी सिफारिस समितिले यथाशिघ्र उत्कृष्ट उम्मेदवारको सिफारिस गर्न पनि हामी आग्रह गर्दछौं ।’
विश्वविद्यालयको उपकुलपतिमा प्राज्ञिक एवं विश्वविद्यालय हाँक्ने क्षमता भएकालाई प्राथमिकता दिन समेत अनुरोध गरेका छन् । साथै नियुक्त उपकुलपतिलाई अन्य पदाधिकारीहरु समेतको आफ्नै टोली बनाएर काम गर्ने वातावरण बनाउनुपर्ने समेत विज्ञप्तिमा उल्लेख गरेका छन् ।पूर्व उपकुलपतिहरुले विश्वविद्यालयहरुको नेतृत्व चयनमा अदृश्य रुपमा भागबन्डाले आश्रय पाएमा नेपालको उच्च शिक्षालाई अझ कमजोर बनाउने भन्दै समितिलाई सचेत गराएका छन् ।