काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नयाँ राजनीतिक दलहरुबाट पनि संविधानमाथि प्रहार भइरहेको आरोप लगाएका छन् ।शुक्रबार नेपाली कांग्रेस काठमाडौं जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै उनले निर्वाचनमा भाग लिएको जस्तो देखिए पनि इतिहासलाई मेटाउने, संघर्षका दिनहरुलाई मेटाउने काममा लागेको बताए ।
‘अहिले एउटा प्रवृत्ति आएको छ । जसले हेर्दै गर्दा संविधान मानेको जस्तो देखिन्छ । जसले निर्वाचनमा भग लिएको जस्तो देखिन्छ तर ख्याल गर्ने हो हामीले भने यसले हाम्रो इतिहासलाई डिसमिस गर्दछ । यसले हाम्रो संघर्षका दिनहरुलाई डिसमिस गर्दछ,’ उनले भने, ‘ यसले गणेशमान मान्दैन, यसले बिपी कोइराला मान्दैन । यसले २०४६ सालको आन्दोलन मान्दैन । यसले ०६२ सालको आन्दोलन मान्दैन । यसले हाम्रो संघर्षको उपहास गर्दछ । यसले विधि, प्रक्रिया मान्दैन ।’
उनले आफू जादुगर हुँ भन्दै आउनेहरु लोकरिझ्याइँको राजनीति गरेर संविधानमाथि निरन्तर प्रहार गरिरहेको बताए । ‘म जादुगर हुँ भनेर आउँछ । यो पनि यो लोकरिझ्याइँको राजनीति पनि यसले पनि संविधानमाथि लगातार प्रहार गरिरहेको छ ।’ उनले भने ।
उनले संविधानमाथि प्रहार गर्नेहरुलाई चिनेर चिरफार गर्नुपर्ने बताए । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति लक्षित गर्दै विगतको अध्याँरोको बारेमा चर्चा गरेर अहिलेको कामलाई ओझोलमा पार्ने काम गरिरहेको बताए ।उनले भने, ‘संविधान माथिको प्रहारहरु छ भनेर यसको विवेचना गर्ने यसलाई टुलुटुलु हेरेर बस्ने होइन, चिनेर चिर्ने हो ।महामन्त्री थापाले नेपाली कांग्रेसलाई देशमा संकट छ भन्ने छुट नरहेको बताए । उनले देश सम्हाल्ने काम कांग्रेसको भएको बताए । सुशासनलाई पार्टीले मन्त्र बनाएर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।