नेपलागन्ज ६ जेठ : बाँकेको जानकी गाउँपालिकामा नेपाली काँग्रेसका दुवै उम्मेदवार विजयी भएकाछन् ।गत निर्वाचनमा नेकपा एमालेले जितेको जानकी गाउँपालिकालाई नेपाली काँग्रेसले यसपटक शानदार जित निकाल्दै आफ्नो किल्ला बनाउन सफल भएको हो ।उक्त गाउँपालिकाको अध्यक्षमा काँग्रेसका छब्बन खाँ र उपाध्यक्षमा रामप्यारी यादव निर्वाचित भएका हुन् ।२०७४ को निर्वाचनमा उक्त गाउँपालिकामा काँग्रेसका उम्मेदवार झिनो मतले पराजित भएका थिए । अध्यक्षमा पराजित भएका खाँलाई काँग्रेसले यसपटक पुनः उम्मेदवार बनाएपछि निर्वाचित भएका हुन् । यसपटक खाँले नेकपा एमालेका हिमान्सु यादवलाई पराजित गरे ।
यस्तै रामप्यारीले एमालेकी भुमिसरा धिताललाई पराजित गरेकी छन् । अध्यक्षमा छब्बनले ६ हजार ५३ मत प्राप्त गर्दै विजयी भए । भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हिमान्सु यादवले ४ हजार ७९५ मत प्राप्त गरे । यस्तै जसपाका राजिवकुमार कुर्मीले २ हजार ९३८ मत पाउँदा राप्रपाका श्याम बहादुर थापाले ७४२ मत पाए ।
उपाध्यक्षमा काँग्रेसकी रामप्यारी यादवले ६ हजार ९०९ मत ल्याएर विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी भुमिसरा धितालले ३ हजार ४५६ मत ल्याउँदा नेकपा माओबादीका रक्षाराम कुर्मीले २ हजार २२९ र राप्रपाकी कुस्मा रैदासले ७ सय ७३ मत पाए ।