काठमाडौँ । विभिन्न देशका लागि पर्यटन प्रवर्द्धक नियुक्त भएकाहरूका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतबार अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै विभागीय मन्त्री हितबहादुर तामाङले पर्यटन प्रवर्द्धकहरुलाई सफल कार्यकालको शुभकामना दिँदै देशको हितमा काम गर्न आग्रह गरे । नेपालमा पर्यटनको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै आफ्नो कार्यक्षेत्र भएको देशमा गएर नेपालको बारेमा प्रचार प्रसार गर्न उनले आग्रह गरे । यस्तै मन्त्रालयका सचिव दीपक काफ्लेले देशको पर्यटन प्रवर्धनमा हालै नियुक्त भएका पर्यटन प्रवर्द्धकहरुले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
निवर्तमान पर्यटनमन्त्री सुदन किरातीको पालामा मन्त्रालयले विभिन्न देश तथा सहरमा २९ जना पर्यटन प्रवर्द्धक नियुक्त गरेको थियो । जसअनुसार कतारका लागि राजेन्द्रकुमार शर्मा, न्युयोर्क अमेरिकाका लागि गोकुल श्रेष्ठ, टोकियो जापानका लागि रामहरि पुडासैनीलगायत नियुक्त भएका थिए ।

