बुटवल । रुपन्देहीको तिलोत्तमामा निर्माण भएको एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको मैदान उद्घाटन भएको छ ।तिलोत्तमा नगरपालिका-१७ स्थित पूर्व दरखसवामा गत जेठ २९ गते शिलान्यास भएको रंगशालाको पहिलो चरणको कामअन्तर्गत खेल मैदान ९ महिनामै तयार भएपछि आज सोमबार लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले मैदान उद्घाटन गरेका छन् ।
क्रिकेट मैदान र क्रिकेट एकेडेमीको ब्रान्ड एम्बेसडर नेपालका चर्चित पूर्वक्रिकेटर शक्ति गौचन छन् ।क्रिकेट रंगशालामा छात्रावाससहितको एकेडेमी र ट्रेनिङ सेन्टर हुने र उक्त एकेडेमी र ट्रेनिङ सेन्टरको सम्पूर्ण जिम्मेवारी गौचनलाई नै दिएको कुँवरले बताए ।उद्घाटनका अवसरमा प्रदेश प्रमुख अमिक शेरचनले तिलोत्तमामा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गर्न, खेलाडी उत्पादन गर्न सहज हुने बताए ।
पूर्वअर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेलले आर्थिक राजधानीको रुपमा विकास भएको रुपन्देहीमा निजी क्षेत्रबाट निर्माण भएको रंगशालाले रुपन्देहीमा लगानीमैत्री वातावरण छ भन्ने पुष्टि गरेको र यसले खेल पर्यटनको माध्यमबाट जिल्लाको आर्थिक समृद्धिमा टेवा पुग्ने धारणा राखे ।पूर्वमन्त्री एवं सांसद छविलाल विश्वकर्मा, पूर्वमन्त्री एवं सांसद गोकर्ण विष्ट, कांग्रेस नेता एवं संघीय सांसद चन्द्र भण्डारी, सांसद बासुदेव घिमिरे, तिलोत्तमाका नगर प्रमुख रामकृष्ण खांण, नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशन सिंहलगायतले बोल्दै रंगशाला निर्माणले क्रिकेटको उर्बरभूमि रुपन्देहीलाई क्रिकेट खेलको माध्यमबट विश्वभर चिनाउन थप मद्दत पुगेको बताए ।
मैदान उद्घाटनका अवसरमा लिजेन्ड्स कप टी-१० क्रिकेट प्रतियोगिता समेत आयोजना गरिएको छ । जसमा नेपालको पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको सन् १९९६ को टोली, सन् २०१४ को टी-२० विश्वकप खेलेको टोली, रूपन्देही लेजेन्ड्स र रेस्ट अफ नेपाल गरी ४ टोलीले सहभागिता जनाएका छन् ।
ADVERTISEMENT

