काठमाडौं ६ जेठ।पूर्वअर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले आगामी बजेटमा ऊर्जा क्षेत्रलाई उच्च प्राथमिकता दिनुपर्ने बताएका छन् । निर्यात बढाएर विदेशी मुद्रा सञ्चिती गर्न ऊर्जा क्षेत्रले मात्रै योगदान गर्न सक्ने भएकाले यसलाई उच्च प्राथमिकता दिनुपर्ने उनले बताए ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०७९ को सिद्धान्त र प्राथमिकता कर प्रस्ताव बाहेकमाथिको छलफलमा भाग लिंदै पुनले जलाशययुक्त आयोजनालाई प्राथमिकता दिन, विद्युतीय गाडी र भान्सामा विद्युतीय चुलोका लागि सहुलियत कार्यक्रम ल्याउन सुझाव दिए । यसबाट वार्षिक एक खर्ब बराबरको ग्यास प्रतिस्थापन हुने र विदेशी मुद्रा सञ्चितीमा सहयोग पुग्ने उनको भनाइ छ ।
सीमित स्रोतसाधन भएका कारण कतै लिइएका लक्ष्य पूरा हुन नसक्ने हो कि भन्नेमा भने सचेत हुन उनले अर्थमन्त्रीलाई सुझाव दिए । कृषिलाई प्राथमिकतामा राख्न सुझाव दिंदै उनले यसबाट गरिबी निवारण, आयात प्रतिस्थापन र कृषिमा आधारित उद्योग विकास गर्न सकिने उल्लेख गरे ।
ADVERTISEMENT