काठमाडौँ । राष्ट्रियसभा सदस्य वामदेव गौतमले राष्ट्रिय सभाको सदस्यले पनि प्रधानमन्त्रीको दाबेदारी प्रस्तुत गर्न पाउनुपर्ने व्यवस्था हुनुपर्ने बताएका छन् । बुधबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्रीको उम्मेदवार बन्न पाउने व्यवस्था हुनुपर्ने माग राखेका हुन् ।
गौतमले प्रतिनिधिसभा र राष्ट्रियसभाका अधिकार र कर्तव्य समान हुनुपर्ने बताए । उनले संघीय संसदमा संयुक्त बैठकहरुको अध्यक्षता अध्यक्ष र सभामुखले आलोपालो गर्ने व्यवस्था गर्नुपर्ने बताए । उनले राष्ट्रपतिको निर्वाचन संघीय संसद्को संयुक्त बैठकले गर्नुपर्ने बताए ।
गौतमले प्रतिनिधिसभा नियमावली बमोजिम चल्न नसकेको जिकिर गरे । उनले राष्ट्रियसभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभा सञ्चालनमा कार्यकुशलता देखाएको भन्दै प्रशंसा गरे ।

