काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल राजनीतिक परिवर्तन पछाडि आर्थिक समृद्धिको यात्रामा क्रियाशील रहेको जनाउँदै समृद्धिको यात्रामा चिनियाँ सहयोग महत्त्वपूर्ण हुने बताएका छन् । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका उनले चिनियाँ कम्युनिस्ट पार्टी छोनछिन पार्टी सचिव युयान जाइजुनसँग बुधबार भएको भेटवार्तामा नेपाल र चीन समृद्धिको यात्रामा सँगसँगै अघि बढ्नुपर्ने बताए । उनले भने, “चीन नेपालमा वैदेशिक लगानी गर्ने पहिलो र वैदेशिक व्यापारमा दोस्रो ठुलो मुलुक हो, आर्थिक सहयोग, लगानी अभिवृद्धि, पर्यटन प्रवर्द्धन तथा व्यापारलाई साथसाथै अघि बढाउनुपर्छ ।” आगामी महिना नेपालमा लगानी सम्मेलन आयोजना गरिएको जानकारी दिँदै उनले चिनियाँ लगानीकर्तालाई लगानीका लागि प्रोत्साहित गर्न आग्रह गरे ।
उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र चीन लामो समयदेखि असल सम्बन्ध भएका मुलुक भएको उल्लेख गर्दै दुई देशबिचको सम्बन्ध पञ्चशिलको सिद्धान्तमा आधारित रहेको बताए । उनले दुई देशबिचको सम्बन्ध समस्यारहित रहेको समेत उल्लेख गरे । द्विपक्षीय सम्बन्धलाई उचाइमा लैजान तथा सहयोगात्मक सम्बन्धलाई अघि बढाउन उच्चस्तरको भ्रमणले इटा थपेको उनले उल्लेख गरे । उपप्रधानमन्त्री श्रेष्ठले बेल्ट एण्ड रोड इनिसाइटिभ (बिआरआइ) कार्यान्वयन कार्ययोजनामा हस्ताक्षर गर्ने अन्तिम चरणमा रहेको उल्लेख गर्दै मानवता, भ्रातृत्व र विकास साझेदारीको पहलकदमीका रूपमा बिआरआइलाई लिएको बताए ।

