अमेरिकी कंग्रेसको संयुक्त अधिवेशनमा ट्रम्पको भाषणका १० महत्त्वपूर्ण बुँदा
zeenepal
२०८१ फाल्गुन २१,
24
Shares
वासिङ्टन डिसी । बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यहाँको संसद (कांग्रेस)को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेका छन् । उनको सो सम्बोधन लगभग दुई घण्टा चलेको थियो । दोस्रो पटक अमेरिकी राष्ट्रपति बनेपछि ट्रम्पले कंग्रेसलाई सम्बोधन गरेको यो पहिलो पटक हो । १. ट्रम्पले अमेरिकी आप्रवासन नीति, कर, युक्रेन र कानुन व्यवस्था लगायत आफ्ना मन पर्ने कयौँ विषयहरूमा बोलेका थिए । २. युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबाट अमेरिकासँग खनिज सम्झौताको लागि तयार रहेको संकेत गर्ने पत्र प्राप्त गरेको बताए । गत हप्ता, ओभल अफिसमा दुई नेताहरू बिच चर्काचर्की पनि अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहायता रोकेको थियो । ३. आफ्नो प्रशासनले क्यानडा, मेक्सिको, चीन र अन्य देशहरूबाट आउने सामानहरूमा शुल्क लगाएकोले अमेरिकी अर्थतन्त्र केही कठिनाइहरूबाट गुज्रनेछ पनि उनले बताए । तर यसलाई उनले सङ्क्रमणकालीन अवधि मात्रै भनेका छन् । ४. सम्बोधनमा ट्रम्पले ग्रिनल्याण्ड जसरी पनि अमेरिकामा सामेल हुने कुरा दोहोर्याए । उनको प्रशासनले यो कुनै न कुनै रूपमा सम्भव बनाउन कडा परिश्रम गरिरहेको उनको भनाइ थियो ।
५. ट्रम्पको भाषणको क्रममा उपराष्ट्रपति र सभामुख सहित सबै रिपब्लिकन सदस्यहरू उभिएर ताली बजाइरहेका थिए । प्रत्येक घोषणा पछि यिनीहरूले नारा लगाइरहेका थिए । तर डेमोक्रेटिक सांसदहरूले चाहिँ प्लेकार्डहरू लिएर विरोध गरिरहेका थिए । ट्रम्पले भाषण सुरु गर्ने बित्तिकै विरोधमा उभिएर आफ्नो सिटमा बस्न अस्वीकार गर्ने डेमोक्र्याटिक सांसद अल ग्रिनलाई रिपब्लिकन सभामुखले सदनबाट बाहिर निकाले । ६. ट्रम्पको भाषण सकिनुअघि नै केही डेमोक्रेटिक सांसदहरू सदनबाट बाहिरिए । विशेष गरी ट्रम्पले युक्रेनको मुद्दा उठाएपछि यस्तो भएको थियो । ७. ट्रम्पले अप्रिल २ देखि भारत लगायत अन्य देशहरूमा पारस्परिक भन्सार लगाउने घोषणा गरेका छन् ।
उनले मेक्सिको र क्यानडाबाट आउने सामानमा २५ प्रतिशत कर लगाउने घोषणा पनि गरे । ८. राष्ट्रपतिको चुनावी अभियानको क्रममा पेन्सिलभेनियाको बटलरमा भएको एक र्यालीमा आफूमाथि भएको आक्रमणको पनि ट्रम्पले भाषणमा उल्लेख गरेका थिए ।९. अमेरिकामा अण्डाको बढ्दो मूल्यको उल्लेख गर्दै मुद्रास्फीति नियन्त्रण गर्ने प्रयास गरिने पनि ट्रम्पले बताए ।१०. सदनको अधिवेशन चलिरहँदा ट्रम्पकी श्रीमती र छोरीहरू अनि उनका नजिकका सहयोगी खर्बपति व्यापारी एलन मस्क पनि आगन्तुकहरू बस्ने ग्यालरीमा उपस्थित थिए । यस क्रममा मंगल ग्रहमा अमेरिकी झन्डा फहराउने ट्रम्पको कुराको एलोन मस्कले प्रशंसा गरेका थिए ।