वीरगञ्ज - जिल्ला प्रहरी कार्यालय पर्सामा सरुवा भई आएका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले सोमबारदेखि आफ्नो कार्यभार सम्हालेका छन्।
नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा महाशाखा, नक्साल, काठमाडौंमा सरुवा भएका एसपी कुमोद ढुंगेलको स्थानमा मिश्रले पर्साको प्रहरी नेतृत्व सम्हालेका हुन्।
एसपी मिश्र यसअघि २०६४ सालमा वडा प्रहरी कार्यालय श्रीपुरको प्रमुखका रूपमा कार्यरत रहिसकेका छन्। भाडाको भवनमा रहेको वडा प्रहरी कार्यालय श्रीपुरलाई तत्कालीन ईन्सपेक्टर मिश्रकै नेतृत्वमा विभिन्न दाताहरूको सहयोगबाट कार्यालयकाे आफ्नै भवन निर्माण गरी सञ्चालनमा ल्याइएको थियो।
जिल्ला प्रहरी कार्यालय पर्साको नेतृत्व सम्हाल्दै मिश्रले पर्साको सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनका अनुसार, समुदाय-प्रहरी साझेदारीको माध्यमबाट अपराध नियन्त्रण, शान्ति सुरक्षाको प्रत्याभूति, र आम नागरिकको भरोसा कायम गर्न विशेष योजना तयार पारिनेछ।
उक्त कार्यभारसँगै एसपी मिश्रको नेतृत्वले पर्सामा शान्ति सुरक्षाको क्षेत्रमा नयाँ दृष्टिकोण स्थापित गर्ने अपेक्षा गरिएको छ।
ADVERTISEMENT
