वीरगञ्ज - निजी तथा आवासीय विद्यालय संघ (प्याब्सन) वीरगञ्जले पहिलो संस्करणको इन्टरस्कुल जुनियर क्रिकेट प्रतियोगिता २०८१ तथा इन्टरस्कुल छात्रा क्रिकेट प्रतियोगिता २०८१ को आयोजना गर्ने घोषणा गरेको छ।
विद्यालयस्तरीय खेलकुदलाई प्रवर्द्धन गर्दै विद्यार्थीहरूको समग्र विकासमा योगदान पुर्याउने उद्देश्यले आयोजना गरिने यो प्रतियोगिता २०७८ माघ ३ गतेदेखि ११ गतेसम्म वीरगञ्जस्थित ज्ञानदा एकेडेमीको खेलमैदानमा सञ्चालन हुनेछ।
प्रतियोगितामा वीरगञ्ज क्षेत्रका प्याब्सन आवद्ध प्रमुख विद्यालयहरूको सहभागिता रहनेछ। जुनियर छात्र तथा छात्रा क्रिकेट प्रतियोगिता मार्फत विद्यार्थीहरूलाई क्रिकेट खेलप्रति आकर्षित गर्दै उनीहरूको सहकार्य, अनुशासन र खेल भावना अभिवृद्धि गराउने लक्ष्य राखिएको प्याब्सन वीरगञ्जका सचिव अमित आलोकले जानकारी दिए।
प्रतियोगिताले विद्यार्थीहरूलाई आफ्नो प्रतिभा देखाउने, नयाँ मित्रता कायम गर्ने तथा खेल मैदान बाहिर पनि जीवन उपयोगी सीपहरू विकास गर्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्दै प्याब्सन वीरगञ्जका अध्यक्ष राहुल श्रीवास्तवले विद्यालयस्तरीय खेल गतिविधिहरूलाई निरन्तरता दिँदै विद्यार्थीको सर्वाङ्गीण विकासका लागि संगठन प्रतिबद्ध रहेको बताए। उनले विद्यालय शिक्षाका अतिरिक्त क्षेत्रहरूमा पनि विद्यार्थीहरूको सक्रियता आवश्यक रहेको भन्दै प्रतियोगिताले उनीहरूको आत्मविश्वास अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।
प्याब्सन वीरगञ्जले सम्पूर्ण विद्यालय, विद्यार्थी, अभिभावक तथा क्रिकेटप्रेमीहरूलाई प्रतियोगितामा सहभागी र समर्थन गर्न आग्रह गर्दै खेलकुदजस्ता अतिरिक्त गतिविधिहरूको प्रवर्द्धनमा सबैको सहयोग आवश्यक रहेको जनाएको छ।
ADVERTISEMENT
