काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेकी सांसद अमृतादेवी अग्रहरीले प्रतिपक्षी दलहरूले सडकदेखि सदनसम्म सरकारलाई सराप्नेबाहेक केही काम गर्न नसकेको बताएकी छन् । मंगलबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले अनावश्यक हल्ला गरेर केही नहुने बताइन् ।‘६ महिनादेखि सडक देखि सदनको रोस्टमसम्म सरकारलाई सराप्ने र विरोध गर्ने बाहेक विपक्षीले केही सुनेको छैन‚’ उनले भनिन् । सांसद अग्रहरीले विरोधको राजनीतिक खेतीपाती बन्द गरेर सरकारले गरेको जायज कुरामा सहयोग गर्न प्रतिपक्षलाई सुझाव दिइन् । ‘हुन त विरोधीहरू जथाभाबी बोलेको हैनन् उहाँहरूको धर्म हो । राजनीति खेतीपाती उहाँहरूले गर्नुभएको छ । जायज कुरामा राष्ट्रको कुरामा चिन्ता गरेर सहयोग गर्नुहोस् । अनावश्यक कराएर केही हुँदैन‚’ उनले भनिन् ।