वीरगंज – जिल्ला प्रहरी कार्यालय पर्साले प्रतिबन्धित लागुऔषध चरेश जस्तो देखिने पदार्थसहित एक महिलालाई पक्राउ गरेको छ।
वीरगंज महानगरपालिका–१६ शंकराचार्य गेट नजिक रहेको प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले बाराको प्रसौनी गाउँपालिका–२ बुनियाद घर भई हाल वीरगञ्ज महानगरपालिका–१६ बसपार्कमा कोठा भाडामा बस्दै आएकी ३० वर्षीया आरती यादवलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार नेपाल–भारत आवागमन गर्ने सवारी साधन तथा पैदल यात्रुहरूको चेकजाँच गर्ने क्रममा यादवलाई शंका लागेपछि रोकिएको थियो। चेकजाँच गर्दा उनले बोकेको झोलामा रातो रंगको ग्यालेनभित्र प्लास्टिकमा राखिएका साना-साना पोका भेटिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) सुबास भट्टले जानकारी दिए। उक्त पोका खोल्दा चरेश जस्तो देखिने पदार्थ फेला परेको थियो।
प्रहरीका अनुसार बरामद गरिएको पदार्थको तौल ११ किलो ४ सय ग्राम रहेको छ। यादवलाई लागुऔषध सम्बन्धी कसूरमा नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको डीएसपी भट्टले बताए।
ADVERTISEMENT
