वीरगञ्ज - जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले वीरगञ्जस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा एसपी मिश्रले मातहतका इकाई इन्चार्जहरूलाई ब्रिफिङ गर्नुका साथै उनीहरूका गुनासो र समस्याहरूबारे जानकारी लिए ।
एसपी मिश्रले चालू आर्थिक वर्षको कार्यसम्पादन सम्झौताको लक्ष्य प्राप्त हुने गरी काम गर्न निर्देशन दिँदै उनले आन्तरिक शुद्धीकरण, आर्थिक पारदर्शिता र जनचेतनामूलक कार्यक्रम सञ्चालनमा जोड दिन आग्रह गरे ।
त्यस्तै उनले राजमार्ग र ग्रामीण क्षेत्रमा चेकजाँचलाई कडाइ गरी तीव्र गति, मादक पदार्थ सेवन (मापसे), मोटरसाइकल चलाउँदा हेलमेट नलगाउने, तीन जना सवार हुने, ओभरलोड, जथाभाबी सवारी पार्किङ जस्ता समस्या नियन्त्रण गर्न विशेष ध्यान दिनुपर्ने बताए । यस्ता कार्यले राजस्व वृद्धि र दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने उनको भनाइ थियो ।
यसै गरी, ट्राफिक भाइलेसन रेकर्डिङ सिस्टम (टीभीआरएस) प्रणालीमार्फत जरिवाना भुक्तानीलाई प्रभावकारी बनाई सेवाग्राहीहरूलाई सहज र छिटो सेवा प्रदान गर्नुपर्नेमा उनले जोड दिए ।
मिश्रले प्रहरी कर्मचारीहरूको बोलचाल, आचरण र व्यवहारमा सुधार ल्याउनुका साथै कार्यालयको सरसफाइ, अभिलेख व्यवस्थापन र सेवा प्रवाहमा विशेष ध्यान दिन पनि निर्देशन दिए ।
“जनगुनासो नआउने गरी काम गर्नुहोस्,” मिश्रले भने, “प्रहरी सेवालाई थप प्रभावकारी र जनमुखी बनाउन सबैको सहयोग आवश्यक छ ।”
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख, प्रहरी निरीक्षक (इन्स्पेक्टर) लोकराज भट्टको उपस्थितिमा भएको निरीक्षणले प्रहरी सेवाको गुणस्तर सुधार र ट्राफिक व्यवस्थापनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
ADVERTISEMENT
