वीरगञ्ज – नेसनल प्याबसन वीरगञ्ज महानगर समितिका अध्यक्ष श्री जियालाल गुप्तालाई शैक्षिक सत्र २०८२ का लागि तय गरिएको शैक्षिक क्यालेन्डर कार्यान्वयन गर्न केन्द्रीय समितिबाट निर्देशन प्राप्त भएको छ।
हालै काठमाडौँमा सम्पन्न नेसनल प्याबसनको आठौं महाधिवेशनमा भएका महत्वपूर्ण निर्णयहरूलाई कार्यान्वयन गर्ने सन्दर्भमा महानगर समितिलाई प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरिएको छ। महाधिवेशनमा सक्रिय सहभागिता जनाउने सम्पूर्ण सदस्यहरूलाई धन्यवाद व्यक्त गर्दै, केन्द्रीय समितिले वीरगञ्ज महानगरभित्र रहेका नेसनल प्याबसन आबद्ध विद्यालयहरूले तोकिएका सम्पूर्ण शैक्षिक गतिविधिहरूलाई पूर्ण रूपमा लागू गर्नुपर्नेमा जोड दिएको छ।
विशेषगरी, शिक्षा समिति, परीक्षा समिति तथा अन्य सम्बन्धित समितिहरूमा अध्यक्ष जियालाल गुप्ताले प्रतिनिधित्व गर्दै महानगर शिक्षा समितिसँग सहकार्य गर्नु आवश्यक रहेको बताइएको छ।
यसै क्रममा, नेसनल प्याबसन अन्तर्गतका विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको हितलाई केन्द्रमा राखी शैक्षिक वातावरणलाई अझ व्यवस्थित, गुणस्तरीय र प्रभावकारी बनाउने विशेष पहल गर्न अनुरोध गरिएको छ। यस पहलले बालबालिकाहरूको समुचित शैक्षिक विकास सुनिश्चित गर्दै उनीहरूलाई सक्षम, आत्मनिर्भर र जिम्मेवार नागरिकका रूपमा तयार पार्ने लक्ष्य राखिएको छ।
अध्यक्ष गुप्ताले आगामी सत्रमा शिक्षाको गुणस्तरमा सुधार ल्याउन शिक्षक तालिम कार्यक्रम, अभिभावकहरूसँग संवाद, र विद्यार्थीको समग्र विकासलाई ध्यानमा राखेर विभिन्न नयाँ योजना अघि सारिने जानकारी दिएका छन्।
नेसनल प्याबसन वीरगञ्ज महानगर समितिले विशेष रूपमा शैक्षिक स्रोत व्यवस्थापन, विद्यार्थीहरूको अतिरिक्त क्रियाकलापमा सहभागीता, र प्राविधिक शिक्षालाई प्राथमिकता दिने गरी कार्ययोजना बनाउँदै छ।
समितिका अनुसार, प्रभावकारी समन्वय र स्कूलहरूको सक्रिय सहभागिताले आगामी शैक्षिक सत्र अझ व्यवस्थित र सफल हुने विश्वास लिएको छ।
ADVERTISEMENT
