वीरगंज - "ट्राफिक जनचेतनामूलक सप्ताह विशेष कार्यक्रम २०८२" अन्तर्गत एक हप्ता लामो अभियानको समापन बुधवार साँझ वीरगञ्जको ऐतिहासिक स्थल घन्टाघर चौकमा दीप प्रज्वलन कार्यक्रमसहित भव्य रूपमा सम्पन्न गरिएको छ।
समापन समारोहको अध्यक्षता जिल्ला प्रहरी कार्यालय, पर्साका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) गौतम मिश्रले गरेका थिए। कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक लोकराज भट्ट, प्रहरी वरिष्ठ नायब निरीक्षक गुणनिधि खकुरेल, वडा प्रहरी कार्यालय वीरगञ्जका प्रमुख निरोज चौलागाईं, विभिन्न सुरक्षा निकायका प्रतिनिधि, पत्रकार, सर्वसाधारण, ट्राफिक प्रहरी तथा जनपद प्रहरीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको मुख्य उद्देश्य सुरक्षित सडक प्रयोग, ट्राफिक नियमको पालना, र सडक दुर्घटनाबाट बच्न जनस्तरसम्म चेतना फैलाउनु रहेको जनाइएको छ। सप्ताहभरि जनचेतनामूलक ¥याली, सडक नाटक, विद्यालयस्तरीय कार्यक्रम, सूचना-प्रदर्शनात्मक गतिविधिहरू लगायत ट्राफिक नियमसम्बन्धी जानकारी दिने विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएको थियो।
समापन समारोहमा बोल्दै एसपी गौतम मिश्रले भने, “सडक दुर्घटना न्यूनीकरण र ट्राफिक नियमको कडाइका साथ पालना सुनिश्चित गर्न आम नागरिकसम्म चेतना पु¥याउनु आजको आवश्यकता हो। यस्ता जनचेतनामूलक अभियानहरूले नागरिकमा ट्राफिकप्रति सचेतना र जिम्मेवारी बोध गराउने विश्वास लिएको छु।”सप्ताह अवधिभर ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरूलाई सचेत गराउँदै सुधारको अवसर प्रदान गरिएको ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ। त्यस्ता अभियानहरू भविष्यमा पनि नियमित रूपमा सञ्चालन गरिने जनाएको छ। कार्यक्रम शान्तिपूर्ण र अनुशासित वातावरणमा सम्पन्न भएको थियो। सहभागीहरूले यस्ता सचेतनामूलक अभियानहरू निरन्तर भइरहनुपर्ने आवश्यकता रहेको धारणा व्यक्त गरेका थिए।