वीरगंज - पर्सा प्रहरीले हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा वीरगंजबाट दुईजनालाई लाखौं रकमसहित नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–२, घुसुकपुर निवासी ३९ वर्षीय संजय साह र बारा महागढीमाई नगरपालिका–४, बगडमपुरका ४१ वर्षीय शनि कुमार ठाकुर रहेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्रका अनुसार बिहीबार विशेष सूचनाका आधारमा प्रहरी टोलीले वीरगंजको ईदगाह चौकमा चेकजाँचको क्रममा दुईवटा मोटरसाइकल रोकेर खानतलासी गर्दा साहको मोटरसाइकलबाट १० लाख र ठाकुरको मोटरसाइकलबाट ४ लाख १३ हजार ५ सय रुपैयाँ श्रोत नखुलेको अवस्थामा बरामद गरिएको हो।
प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर जिल्ला अदालत पर्साबाट म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ।
एसपी मिश्रका अनुसार वीरगंजमा पछिल्लो समय हुण्डी कारोबार व्यापक बन्दै गएको भन्दै त्यस्ता गैरकानुनी क्रियाकलाप नियन्त्रण गर्न प्रहरी सक्रिय भएको छ।
ADVERTISEMENT

