वीरगंज — नेपाली कांग्रेस पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अनिल कुमार रुङटाले जनतामैत्री, सहभागितामूलक र संवादमुखी चुनावी अभियानलाई तीव्र बनाएका छन्। उनले वीरगन्ज महानगरपालिका वडा नम्बर ८ (गहवा), १२ (मुर्ली) र २० (हरपतगंज) लगायतका बस्ती तथा टोलहरूमा पुगेर घरदैलो, चिया–चर्चा, अन्तरक्रिया र छलफलमार्फत मतदाता तथा स्थानीयवासीसँग प्रत्यक्ष संवाद गरेका छन्।
अभियानका क्रममा रुङटाले सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, बेरोजगारी, महँगी तथा किसानका समस्या जस्ता जनजीवनसँग प्रत्यक्ष जोडिएका विषय सुन्दै समाधानमुखी राजनीतिलाई आफ्नो प्रमुख प्राथमिकता बनाएको स्पष्ट पारे। वडा नम्बर ८ मा आयोजित चिया–चर्चा कार्यक्रममा उनले लोकतन्त्र, संविधान र जनअधिकारको रक्षाका लागि आवश्यक परे जेल जान पनि तयार रहेको प्रतिबद्धता व्यक्त गरे।
उद्योग–व्यापारमैत्री नीतिको अभावकै कारण बेरोजगारी बढेको उल्लेख गर्दै रुङटाले कांग्रेस नेतृत्वको सरकार बनेपछि रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तार हुने विश्वास व्यक्त गरे। संघीय लोकतान्त्रिक गणतन्त्र कांग्रेसकै नेतृत्वमा स्थापना भएको स्मरण गराउँदै अब देशलाई विकास र समृद्धिको दिशामा अघि बढाउने जिम्मेवारी पनि कांग्रेसकै भएको उनले दाबी गरे।
अभियानकै क्रममा पार्टीका बुथ सभापति तथा कार्यकर्तासँग संगठन सुदृढीकरण र निर्वाचन रणनीतिबारे छलफल गरिएको थियो। कार्यक्रममा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी र पूर्व जिल्ला सभापति अजय कुमार द्विवेदीले रुङटालाई स्वच्छ छवि, विकासमुखी सोच र जनताप्रति उत्तरदायी नेता भएको बताउँदै आगामी निर्वाचनमा कांग्रेसलाई विजयी गराउन आह्वान गरे।
उम्मेदवार रुङटाले जनताको विश्वास नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै आफू निर्वाचित भए पर्सा क्षेत्र नम्बर–१ लाई नमुना र समृद्ध क्षेत्रका रूपमा विकास गर्ने दृढ संकल्प दोहोर्याए। कार्यक्रममा कांग्रेस कार्यकर्ता, स्थानीय अगुवा नागरिक र सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।
ADVERTISEMENT

