वीरगंज - पर्सा निर्वाचन क्षेत्र नं. २ का नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार मनोज चौधरीले आज वीरगंज महानगरपालिका वडा नं. १७ अन्तर्गत अलौं र कोन्हिया क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।
घरदैलो अभियानका क्रममा चौधरीले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै स्थानीय जनताका समस्या, आवश्यकता र अपेक्षाबारे जानकारी लिएका थिए। सो अवसरमा उनले कांग्रेस र एमालेको शासनकालमा मुलुक ठूलो जनधनको क्षतिमा परेको भन्दै देश करिब १० वर्ष पछाडि धकेलिएको दाबी गरे।
चौधरीले नेकपाको नेतृत्वमा मात्र देशले समग्र विकासको गति लिन सक्ने विश्वास व्यक्त गर्दै जेन्जी पुस्ताको चाहना र आवश्यकताअनुसार काम गर्न सक्ने क्षमता नेकपामै रहेको जिकिर गरे। उनले आफ्नो राजनीतिक यात्रा विद्यार्थी कालदेखि नै जनताको बीचमा सक्रिय रहेको उल्लेख गर्दै निर्वाचन जिते पनि जनताको नजिकै रहि सेवा गर्ने प्रतिबद्धता व्यक्त गरे।
घरदैलो कार्यक्रममा नेकपाका केन्द्रीय सदस्यहरू रामचन्द्र साह, बृजलाल पासवान, विपिन यादव, बिरेन्द्र यादव, साथै पार्टी नेता जीवन राम, सुशील हजरा, लालमन वैइबा लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।

