नेपालगञ्ज २६ असार। ईस्लाम धर्मावालम्बीहरुको दोस्रो ठूलो पर्व ईद–उल–अजाह (बकर ईद) को रौनक आइतबारदेखि सुरु भएको छ । तीन दिनसम्म मनाइने यो पर्व मंगलबारसम्म मनाईने प्रचलन छ ।रमदान महिना भर उपवास बसेर ईदगाहमा सामुहिक नामज पढेर ईद मनाएको ठिक ७० दिनपछि ईद–उल–अजाह बकरईद मनाईने चलन छ । नेपालगञ्जको बीपी चोकमा रहेको ईदगाह मस्जिदमा आइतबार बिहान साढे ७ बजे सामुहिक नमाज पढेर बकराईद ईद–उल–अजाह मनाउन सुरु गरिएको हो ।सो अबसरमा नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायत मन्त्री मोहम्मद ईस्तियाक राइले ईदगाहमा सामुहिक नमाज पढेर मुलुकमा शान्ति तथा अमनचैन कायम गर्दै नेपालगञ्जमा सामाजिक सद्भाव कायम गर्न आग्रह समेत गरे ।
नेपालगञ्ज उपमहानगरका नगरप्रमुख प्रशान्त विष्टले ईदगाहमा सामुहिक नमाज पढ्न आएका ईस्लाम धर्मावलम्बीलाई शुभकामना दिदै नगरमा शान्ति सद्भाव र भाईचाराको सम्बन्ध प्रगाढ बनाउन आग्रह गरे ।ईदगाहमा सामुहिक नमाज पढे लगत्तै सबै ईस्लाम धर्मावालम्बीहरुले कुर्वानी (पशुबली) को लागि नजिकको सामुहिक स्थान मस्जिद वा आ–आफ्नो घरमा दिएका थिए ।
बकरईदमा कुर्वानी (पशुबली) दिने चलन भएकोले नेपालगञ्जका मुस्लिम समुदायहरु आ–आफ्नो घरमा कुर्वानीको लागि खसी, भेडा, दुम्बा, भैसी, राँँगा जस्ता जानवरको जोहो गरि सकेका छन् ।भेडा, खसी बाख्रा, दुम्बा जस्ता साना जनावरमा १ जनाको मात्र कुर्वानी हुने चलन छ भने राँँगा भैसी, उट जस्ता ठूला जनावरमा ७ जना मिलेर कुर्वानी गराउन सकिने परम्परा रहेको ईस्लामा धर्मगुरु समेत रहनुभएका मौलाना ज्याउल मुस्तफा नूरानीले जानकारी दिए ।
मुस्लिम धर्मगुरु नूरानीले कुर्वानी गराएको मासु तीन भाग गरी एक भाग गरिबमा बाँड्ने, एक भाग छरछिमेकमा बाँड्ने र एक भाग घरमा पकाएर आफु र आफन्तलाई खुवाउने प्रचलन रहेको जानकारी दिए ।सम्पूर्ण ईस्लाम धर्मावलम्बीहरु जसको साथमा साढे सात तोला सुन वा साढे ५२ तोला चाँदी वा सो वराबरको धनसम्पत्ति छ र कुनै पनि ऋण छैन भने त्यो व्यक्तिले अनिवार्य रुपमा बकरईदमा कुर्वानी गराउनु पर्ने प्रावधान अनुसार कुर्वानी गराउनु पर्ने धार्मिक चलन रहेको छ ।
ADVERTISEMENT