वीरगंज - पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार प्रदीप यादवले आफूप्रतिको बढ्दो जनसमर्थन देखेर विपक्षी दलहरू आत्तिएर अराजक गतिविधिमा उत्रिएको आरोप लगाएका छन्।
वीरगंज–१६ नगवामा शनिबार आयोजित एमालेको पार्टी प्रवेश कार्यक्रमलाई बिथोल्ने प्रयास असफल भएपछि प्रतिक्रिया दिँदै यादवले पर्सा–१ मा एमालेप्रतिको अभूतपूर्व जनलहरले विपक्षीहरू असहज अवस्थामा पुगेको बताए।
कार्यक्रममा देखिएको विशाल जनसहभागिता र उत्साहजनक माहोलले पर्सा–१ मा एमालेको जित सुनिश्चित हुँदै गएको उनको दाबी छ। पूर्वमन्त्रीसमेत रहेका यादवले भने, “मैले मन्त्री हुँदा गरेका कामहरूको मूल्यांकन आज जनताले गरिरहेका छन्। अरूको जस्तो भाषण होइन, मेरो कामले नै बोलेको छ।”
शनिबारको पार्टी प्रवेश कार्यक्रम भाँड्न विपक्षीबाट प्रायोजित केही समूहले अनेक हथकण्डा अपनाए पनि नगवाका स्थानीय नागरिकहरूले नै ती प्रयासहरू असफल बनाएको यादवको भनाइ छ।
उनले भने, “नगवामा हजारौँ नागरिक खुलेर एमालेमा प्रवेश गरेको दृश्य विपक्षी दलका लागि सह्य भएन। त्यसैले कार्यक्रमलाई बदनाम गर्ने प्रयास गरियो। तर जनताको समर्थन र विश्वासका अगाडि यस्ता हर्कतहरू टिक्न सक्दैनन्।”
जनताले अब पुरानो शैलीको राजनीति होइन, परिणाममुखी, जवाफदेही र विकास केन्द्रित नेतृत्व चाहिरहेको उल्लेख गर्दै यादवले थपे, “नगवामा देखिएको जनसमर्थन कुनै आकस्मिक घटना होइन। यो जनताको बढ्दो चेतना र परिवर्तनको चाहनाको स्पष्ट संकेत हो।”
ADVERTISEMENT

