वीरगंज – फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको तयारीका क्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार अशोक टेमानीले वीरगंज महानगरपालिका वडा नं. २५ श्रीसियामा घरदैलो तथा कोनसभा कार्यक्रम सञ्चालन गरेका छन्। कार्यक्रममा टेमानीको उपस्थितिमा उल्लेखनीय जनलहर देखिएको थियो।
घरदैलोका क्रममा टेमानीले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको समस्या, गुनासा र अपेक्षाहरू सुने। शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, रोजगारी र किसानका मुद्दालाई प्राथमिकतामा राख्दै उनले “विकास र अधिकार सँगसँगै” भन्ने स्पष्ट राजनीतिक प्रतिबद्धता व्यक्त गरे।
स्थानीय बासिन्दाहरूले विगतका प्रतिनिधिहरूले जनताको आवाज संसदमा प्रभावकारी रूपमा उठाउन नसकेको गुनासो गर्दै यसपटक परिवर्तनका लागि नयाँ नेतृत्व आवश्यक भएको बताए। एक स्थानीयले भने, “हामीलाई भाषण होइन, काम गर्ने प्रतिनिधि चाहिएको छ। टेमानीजी जनताबीच पुगेर कुरा सुन्ने नेता भएकाले हाम्रो समर्थन उहाँलाई छ।”
राजनीतिक विश्लेषकहरूले मधेशका मुद्दा, समावेशी प्रतिनिधित्व र स्थानीय विकासलाई राष्ट्रिय एजेन्डासँग जोडेर उठाउने जसपा नेपालको रणनीति प्रभावकारी रहेको बताएका छन्। टेमानीको सरल स्वभाव, पहुँचयोग्य नेतृत्व शैली र स्थानीय स्तरमै सक्रिय भूमिका मतदाताका लागि निर्णायक बन्दै गएको देखिएको छ।
निर्वाचन नजिकिँदै जाँदा टेमानीको घरदैलो अभियानले गति लिने र पर्सा–२ क्षेत्रका जसपा समर्थकलाई थप सक्रिय बनाउने अपेक्षा गरिएको छ। कार्यक्रममा पूर्वमन्त्री करीमा बेगम लगायत नेताहरू र कार्यकर्ताहरूको उपस्थिती रहेको थियो।

