काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद पुनम अग्रवालले निर्वाचन प्रणालीलाई मितव्ययी बनाउन र आधुनिक प्रविधिको प्रयोगमार्फत उम्मेदवारहरूको खर्च नियन्त्रण गर्नुपर्ने बताएकी छन् ।प्रस्तावित निर्वाचन आयुक्त डा. राजीव सुब्बाको संसदीय सुनुवाइका क्रममा बोल्दै सांसद अग्रवालले निर्वाचन खर्च र विदेशमा रहेका नेपालीको मताधिकारका विषयमा केन्द्रित रहेर प्रश्नहरू उठाएकी हुन् । सांसद अग्रवालले निर्वाचन दिनप्रतिदिन खर्चिलो बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै यसलाई प्रविधिमार्फत कसरी कम गर्न सकिन्छ भनी जिज्ञासा राखिन् ।
निर्वाचनमा हुने राज्यको खर्च र उम्मेदवारहरूले गर्ने अत्यधिक खर्चलाई न्यूनीकरण गर्न तपाईंसँग के योजना छ? टेक्नोलोजी भित्र्याएर निर्वाचनलाई कसरी कम खर्चिलो र पारदर्शी बनाउन सकिन्छ,’ अग्रवालले भनिन् । अग्रवालले उम्मेदवारहरूले गर्ने अस्वस्थ प्रतिस्पर्धा र खर्चलाई प्रविधिको माध्यमबाट नियमन गर्ने ठोस मार्गचित्र उनले माग गरिन् । लाखौँ नेपाली नागरिकहरू विदेशमा रहेको र उनीहरूले देशको अर्थतन्त्रमा ठुलो योगदान पुर्याइरहेको उल्लेख गर्दै सांसद अग्रवालले उनीहरूलाई छिटोभन्दा छिटो मतदानको अधिकार दिनुपर्ने बताइन् ।उनले भनिन्, ‘विदेशमा भएका नेपालीहरूलाई भोटिङ राइट दिन अब धेरै ढिला गर्नु हुँदैन। उनीहरूले आफ्नै स्थानबाट मतदान गर्न पाउने वातावरण छिटोभन्दा छिटो कसरी निर्माण गर्न सकिन्छ ? यसका लागि तपाईंसँग कस्तो ‘फास्ट ट्र्याक’ योजना छ ?’सांसद अग्रवालले निर्वाचन आयोगले केवल आश्वासन मात्र दिने नभई व्यवहारमै प्रविधि भित्र्याएर निर्वाचन प्रणालीमा आमूल परिवर्तन ल्याउनुपर्ने धारणा राखिन्।
ADVERTISEMENT

