काठमाडौँ — प्रतिनिधि सभामा विभिन्न ८ वटा विधेयक पेस भएको छ । मंगलबारबाट सुरु भएको प्रतिनिधिसभाको ११औँ अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकमा विभिन्न ८ विधेयक पेस भएका हुन् । प्रतिनिधिसभामा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र नेपाल प्रहरीका कार्य सञ्चालन सुपरीवेक्षण र समन्वय (पहिलो संशोधन) अध्यादेश २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८ र तेजाव तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७८ पेस गरे ।त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले औषधि (तेस्रो संशोधन) अध्यादेश २०७९ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७९ पेस गरेका छन् ।
त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले रेल्वे अध्यादेश २०७८ पेस गरेका छन् ।
त्यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र यौन हिंसाविरुद्धका ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ पेस गर्नुभएको छ ।प्रतिनिधिसभाको मंगलबारको बैठकमा कांग्रेसकी सांसद पुष्पा भुसाल (गौतम) ले प्रतिनिधिसभा नियमावली २०७५ को नियम २५० को उपनियम १ बमोजिम उक्त नियमावलीको नियम ४२ को उपनियम ४ लाई तत्कालका लागि निलम्बन गरियोस् भनी प्रस्ताव पेस गरे । उक्त प्रस्ताव सदनमा बहुमतका साथ पास भएको सभामुख अग्निप्रसाद सापकोटाले बताए ।
नियम निलम्बनको प्रस्तावमा जेठ ४ गते (भोलि) प्रतिनिधिसभामा छलफल हुने सभामुख सापकोटाले बताए । प्रतिनिधिसभाको अर्को बैठक भोलि (बुधबार) दिउँसो १ बजे बस्नेछ ।
ADVERTISEMENT