वीरगंज - जनमत पार्टीप्रति समाजका हरेक वर्गको आकर्षण बढ्दै गएको पछिल्ला घटनाक्रमले देखाएको छ। यसै क्रममा जनमत पार्टी पर्सा जिल्ला कार्यालयमा आयोजित एक विशेष कार्यक्रममा पर्साका महिला उद्यमी तथा सक्रिय सामाजिक कार्यकर्ताहरू जनमत पार्टीमा प्रवेश गरेका छन्।
पार्टी प्रवेश गर्ने महिलाहरूमा अनिता महतो, लालमुनी महतो, पूजा कुमारी साह, इन्दु देवी, बबिता देवी, सुदामा देवी, अर्चना चौधरी, रोमा चौधरी र सुगन्धी देवी लगायतका उल्लेखनीय व्यक्तित्वहरू सामेल छन्। उनीहरूलाई जनमत पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफ, केन्द्रीय सदस्य रम्भा मिश्रा, महानगर अध्यक्ष महादेव शर्मा, र महिला जिल्ला अध्यक्ष अञ्जना गुप्ता लगायतका नेताहरूले पार्टीको सदस्यता प्रदान गरेका थिए।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले जनमत पार्टीले समाजका सबै वर्ग र समुदायलाई समेट्दै अघि बढ्ने बताए। उनले महिलाहरूको सक्रिय सहभागिताले पार्टीको संगठनलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे।
यस कार्यक्रममा क्षेत्र नम्बर १ का अध्यक्ष गगनदेव यादव, महानगर उपाध्यक्ष केदार पटेल, सचिव लोकेश कर्ण, महानगर युवा अध्यक्ष संजय सिंह, जिल्ला सदस्य नागेन्द्र यादव र नेता नितम गिरी लगायतका पार्टीका महत्त्वपूर्ण पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
जनमत पार्टी पर्साले आफ्नो विस्तारको क्रमलाई तीव्रता दिँदै वीरगन्जका सक्रिय सामाजिक कार्यकर्ताको नेतृत्वमा सयौं युवाहरूलाई पार्टीमा प्रवेश गराउने गरी थप कार्यक्रम तय गरिसकेको जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले जानकारी दिए। यो अभियानले पार्टीको आधारलाई अझ फराकिलो बनाउने र आगामी दिनमा जनमत पार्टी मधेश प्रदेशमा थप सशक्त शक्तिका रूपमा उभिने नेता सर्राफले दाबी गरे ।
ADVERTISEMENT
