वीरगंज — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले पर्सा निर्वाचन क्षेत्र नं. १ का सक्रिय पार्टी सदस्यहरूसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा सहभागी सदस्यहरूले क्षेत्र नं. १ का उम्मेदवारलाई विजयी गराउने दृढ प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रममा पर्साका चारै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरूलाई प्रभावकारी रुपमा जिताउन सबै तह र तप्काबाट कसरी भूमिका खेल्न सकिन्छ भन्ने विषयमा गहन छलफल तथा विचार-विमर्श गरिएको थियो। सहभागीहरूले आफ्ना दृष्टिकोण तथा सुझावहरू प्रस्तुत गर्दै पार्टीको सफलताका लागि आवश्यक रणनीतिहरूमा ध्यानाकर्षण गराए।
रास्वपा पर्सा सभापति तथा क्षेत्र नं. १ का उम्मेदवार हरि पन्तले उठाइएका जायज सुझावहरूलाई पार्टीले सहर्ष ग्रहण गर्ने प्रतिबद्धता जनाउँदै आगामी फाल्गुन २१ गते मतदाताले भ्रष्टाचार, कुशासन, अनियमितता र नातावादविरुद्ध मतपत्रमार्फत जवाफ दिने दाबी गरे।
सभापति पन्तले कार्यक्रममा देखिएको सक्रियता र उल्लेखनीय सहभागिताले आफू र पार्टीलाई थप हौसला दिएको उल्लेख गर्दै, पर्साका चारै निर्वाचन क्षेत्रमा रास्वपाको जित सुनिश्चित हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा सयौं पार्टी सदस्य र शुभेच्छुकको सहभागिता रहेको थियो। जिल्लाका सचिव सुदिश प्रजापति, क्षेत्रीय सभापति राम आर्या, फैयाद मिया लगायतका नेताहरू पनि उपस्थित थिए। कार्यक्रम सहसचिव कृष्ण पास्वानले सञ्चालन गरेका थिए भने महानगर सभापति अमन आलमले सभापतित्व गरेका थिए।

