वीरगञ्ज – पर्सा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक टेमानीको घरदैलो अभियान पर्सागढी नगरपालिकाको वडा नं. ३ अन्तर्गत झुलीटार, विरुवागुठी र भाबराहलगायतका टोलहरूमा सम्पन्न भएको छ । जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार टेमानीले घरदैलो अभियानलाई तीव्र बनाउँदै लगेपछि पर्सा क्षेत्र नं. २ जसपामय बन्दै गएको छ ।
घरदैलो अभियानमा स्थानीय युवा, महिला तथा वृद्धवृद्धाहरूले उत्साहका साथ व्यापक सहभागिता जनाइरहेका छन् । अभियानकै क्रममा उम्मेदवार टेमानीले मतदाताहरूसँग प्रत्यक्ष संवादसमेत गरेका छन् । संवादका क्रममा सो क्षेत्रका महिला मतदाताहरूले प्रत्येक पटक विजयी भएका नेताहरूबाट धोका मात्रै पाएको गुनासो व्यक्त गरेका थिए । उनीहरूले भोट माग्न मात्र नेताहरू पटक–पटक आउने तर जितेपछि बेपत्ता हुने गरेको कारण यहाँका समस्या कहिल्यै समाधान हुन नसकेको बताए ।
ठूला–ठूला लोभलाग्दा नारासहित भोट माग्न आउने नेताहरूबाट यसपटक पर्सा क्षेत्र नं. २ का जनता सचेत भइसकेको स्थानीय युवा मतदाताहरूको भनाइ थियो । राजनीतिलाई व्यापार बनाउने उम्मेदवारहरूलाई चिनिसकेको बताउँदै स्थानीय युवाहरूले त्यस्ता उम्मेदवारलाई मतपेटिकामार्फत जवाफ दिने बताएका छन् । अहिले पनि क्षेत्र नं. २ बाट राजनीतिलाई व्यापार बनाएका पुराना अनुहारहरू पुनः उम्मेदवार बनेका छन्, तर हालसम्म मुख देखाउनसमेत नआएको भन्दै युवाहरूले अबको विकल्प जसपा उम्मेदवार अशोक टेमानी नै भएको बताएका छन् ।
स्थानीयवासीका अनुसार शिक्षामा अब्बल तथा सफल उद्योगीको रूपमा स्थापित अशोक टेमानी पर्सा क्षेत्र नं. २ का जनताको समस्या समाधान गर्ने उद्देश्यसहित चुनावी मैदानमा उत्रिएकाले उनलाई पूर्ण समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
घरदैलो अभियानका क्रममा मतदातासँगको प्रत्यक्ष संवादमा उठेका गुनासाहरू सम्बोधन गर्दै उम्मेदवार टेमानीले यस क्षेत्रका समस्या बुझेर समाधानको उपाय खोज्न आफू चुनावी मैदानमा उत्रिएको बताए । उनले कसैको लहलहीमा नपरी जनताको पीडा, किसानका समस्या र क्षेत्रका वास्तविक आवश्यकताहरू बुझेर समाधान गर्न सक्ने व्यक्तिलाई विजयी गराउन आग्रह गरे ।
उनले भने, “तपाईंहरू एउटै पार्टीलाई जिताउनुहोस् र पाँच वर्षसम्म हेर्नुहोस् । भएन भने ढुंगा हान्नुस् । राम्रो मान्छे हेरेर मात्रै आफ्नो अमूल्य मत प्रयोग गर्नुहोस् ।”
उनले मतदाताको एक–एक भोट अत्यन्तै महत्वपूर्ण हुने उल्लेख गर्दै लहलहीमा नपरी उम्मेदवार कस्तो छ, के गर्न सक्छ, सक्षम छ कि छैन, उसको पृष्ठभूमि कस्तो छ भन्ने विषय बुझेर मात्रै उम्मेदवार चयन गर्न आग्रह गरे ।
घरदैलो अभियानमा जसपाका नेता तथा कार्यकर्तासहित स्थानीय युवा, समाजसेवीलगायत विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

