वीरगंज - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा–१ का उम्मेदवार हरि पन्तले मधेस आन्दोलनका सहिद दिलिप चौरसियाका आमा रामज्योति देवी र दाजु पृथ्वी नारायण चौरसियासँग भेटघाट गरेका छन्।
आज रास्वपा द्वारा आयोजित जगरनाथपुरस्थित घरदैलो कार्यक्रममा उम्मेदवार पन्तले सहिद दिलिप चौरसियाका परिवारसँग भेटेर मधेस आन्दोलनका शहीदप्रति सम्मान व्यक्त गरे। भेटघाटका क्रममा सहिद परिवारले मधेसबादी दलका केही नेताहरूले व्यक्तिगत राजनीतिक लाभका लागि मधेस आन्दोलनलाई बेवास्ता गरेको र आन्दोलनको सन्दर्भमा जनताको पीडा नबुझी कार्य गरेकोमा दुःख व्यक्त गरे।
सहिद परिवारले अब रास्वपालाई पूर्ण समर्थन दिने प्रतिबद्धता व्यक्त गरेका छन्। यस अवसरमा पर्सा–१ का रास्वपा उम्मेदवार हरि पन्तले मधेस आन्दोलनका शहीदलाई जेन्जी आन्दोलनका सहिद सरह सम्मान दिने र राज्यले पनि उनीहरूको योगदानको कदर गर्नुपर्ने बताएका छन्।
आजको घरदैलो कार्यक्रम बिरगंज–२२, जगरनाथपुरमा आयोजित गरिएको थियो। कार्यक्रमको सुरुवात श्रीराम जानकी मन्दिरमा पूजा–अर्चना गरेर गरिएको थियो। त्यसपछि जगरनाथपुर चौकबाट कार्यक्रम प्रारम्भ भई वडा भित्रका विभिन्न टोलहरूमा घरदैलो सम्पन्न भएको थियो।
घरदैलोका क्रममा उम्मेदवार पन्तले स्थानीय नागरिकहरूसँग प्रत्यक्ष संवाद गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीको नीति, उद्देश्य र विकास प्राथमिकताबारे जानकारी दिएका थिए। कार्यक्रममा स्थानीय बासिन्दाहरूले शिक्षा, रोजगारी, खानेपानी, सरसफाइ, सडक, स्वास्थ्य र सुशासनसम्बन्धी विभिन्न समस्या र सुझाव राखेका थिए। उम्मेदवार पन्तले यी समस्याहरू नोट गर्दै समाधानमुखी पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
घरदैलो कार्यक्रममा रास्वपा नेता–कार्यकर्ता, स्थानीय युवा, महिला र सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
निर्वाचन परिचालन समिति, बिरगंज–२२, जगरनाथपुरका संयोजक युवराज पटेलले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण स्थानीयवासी, पार्टी कार्यकर्ता र शुभेच्छुकप्रति धन्यवाद व्यक्त गरेका छन्।
रास्वपा आगामी दिनहरूमा पनि जनस्तरसँग प्रत्यक्ष संवाद र सहभागितामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

