वीरगञ्ज - पूर्व वन तथा वातावरणमन्त्री प्रदीप यादवले संसद्को आफ्नै टिभी चलाउन सुझाव दिएका छन् ।
मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको बैठकमा पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य (संसाद्) यादवले नेपालको संसद्को आफ्नै टिभी सञ्चालन गर्नुपर्ने बताएका हुन् ।
संसद् सत्रको शून्य समय र विषय समयमा सांसदहरूले बोलेका कुरा जनतासमक्ष प्रभावकारी ढङ्गले जान नसकेको भन्दै उनले नियमावलीमा संसद्को टिभी सञ्चालनको व्यवस्था गर्ने नियम राख्न आग्रह गरे ।
उनले भने- “भारतमा पनि विधानसभा र लोकसभाको आफ्नै टिभी छ । हाम्रो संसद्मा बोलेको कुरा दुई चार जनाको मात्र समाचारमा जान्छ । हाम्रो पनि प्रतिनिधिसभा र राष्ट्रियसभाको टिभीको व्यवस्था गर्नुपर्यो । ठूलो नेताले बोलेको कुरा मात्र समाचारमा जान्छ । सबैको कुरा जनतासमक्ष पुर्याउन आफ्नै टिभीको आवश्यक छ ।”
यस्तै उनले संसद्को पोसाक सभामुखले निर्धारण गरेबमोजिम हुने भन्ने व्यवस्था नगर्न आग्रह गरे । बरु मर्यादित पोसाक भन्ने व्यवस्था गर्नुपर्ने उल्लेख गरे ।
ADVERTISEMENT
