वीरगंज – प्याब्सन वीरगंज महानगर समितिको आयोजनामा जारी अण्डर-१२ क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार भएको पहिलो खेलमा कालिका एकेडेमी विजयी भएको छ।
वीरगंजस्थित ज्ञानदा एकेडेमीको मैदानमा भएको खेलमा एसआर ग्यालेक्सी वीरगंज –१३ राधेमाईलाई २९ रनले पराजित गर्दै कालिका एकेडेमी (कालिकामाई गाउँपालिका–२, भेडिहारी) विजयी भएको हो। एसआर ग्यालेक्सीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कालिका एकेडेमीले १० ओभरमा ६ विकेट गुमाएर १०९ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको एसआर ग्यालेक्सी ७ ओभरमै सबै विकेट गुमाउँदै ८० रनमै समेटिएपछि कालिका एकेडेमी विजयी घोषित भयो। खेलका म्यान अफ द म्याच कालिका एकेडेमीका सोनु साह घोषित भए, जसले ५० रनको महत्वपूर्ण योगदान दिए। उनलाई प्याब्सन मधेश प्रदेशका उपाध्यक्ष पुरण प्रधानले सिल प्रदान गरे।
त्यस्तै, बिहीबार नै भएको दोस्रो खेलमा मुनलाईट स्कुल वीरगंजलाई पराजित गर्दै विद्यासागर स्कुल वीरगञ्ज विजयी भएको प्याब्सन वीरगञ्ज महानगर समितिका अध्यक्ष राहुल श्रीवास्तवले जानकारी दिए।
क्रिकेट प्रतियोगिता अन्तर्गत विभिन्न विद्यालयका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। प्रतियोगिताले बालबालिकाहरूको खेलकुद क्षमताको विकास गर्न सहयोग पुर्याउनुका साथै उनीहरूलाई खेल क्षेत्रप्रति आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने आयोजक समितिले जनाएको छ। प्रतियोगिता आगामी केही दिनसम्म सञ्चालन हुनेछ, जसमा वीरगञ्जका विभिन्न विद्यालयका टिमहरूबीच प्रतिस्पर्धा हुनेछन्। 
