काठमाडौँ — नेपाल बास्केटबल संघले १० औं संस्करणको राष्ट्रिय खुला महिला बास्केटबल प्रतियोगिता गर्ने भएको छ ।आउँदो असार १ देखि ६ सम्म कीर्तिपुर इन्डोर कभर्डहलमा हुने प्रतियोगितामा देशभरका ८ टिमले प्रतिस्पर्धा गर्ने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष भीमसिंह गुरुङले जानकारी गराए ।बास्केटबलको महिला राष्ट्रिय प्रतियोगिता नभएको एक दशकभन्दा बढी भइसकेको स्थितिमा हुन लागेको हो । अध्यक्ष गुरुङले भने, ‘हामीले महिला राष्ट्रिय प्रतियोगिता नगरेको धेरै वर्ष भइसकेको छ । अन्य प्रतियोगिताहरू त गर्दै आएका छौं । आर्थिकलगायत विविध कारणले गर्दा यस राष्ट्रिय प्रतियोगिता निरन्तरता दिन सकेका थिएनौं, अब यसलाई निरन्तर आयोजन गर्ने लक्ष्य बनाएका छौं ।’
प्रतियोगिताका लागि साढे १३ लाखको बजेट अनुमान गरिएको उनले जानकारी गराए ।महिला राष्ट्रिय टोलीका प्रशिक्षक विकास शाहीले प्रतियोगितामा उपत्यकाबाहिरको तीनसहित ८ टोलीले सहभागिता रहेको बताए । उनका अनुसार कास्कीको अन्नपूर्ण बास्केटबल एसोसिएसन, सुनसरी बास्केटबल एसोसिएन, लुम्बिनी प्रदेश बास्केटबल टिमसहित इसा नेपाल, लेट्स गो बास्केटबल एकेडेमी, ट्रेनिङ ग्राउन्ड टिम, बूढानीलकण्ठ नगरपालिका टिम र ग्रान्डी स्टार्स टिमले प्रतिस्पर्धा गर्नेछन् ।विजेताले ५० हजार र उपविजेताले ३० हजार रुपैयाँ पुरस्कार जित्नेछन् । सर्वोत्कृष्ट खेलाडीले १० हजार, इमर्जिङ टिम अवार्ड जित्नेले १० हजार तथा भ्याली बाहिरका इमर्जिङ प्लेयरले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।राष्ट्रिय खुला महिला बास्केटबलको साबिक विजेतामा प्राइम स्पोर्ट्स क्लब र उपविजेतामा हिमालयन ह्वाइटहाउस बास्केटबल क्लब हुन् ।
यस पटकको प्रतियोगिताबाट महिला राष्ट्रिय टोलीका लागि खेलाडी छनोट गरिनेछ । त्यो टिमले दक्षिण एसियाली बास्केटबल (साबा) च्याम्पियनसिप खेल्नछ । साबा च्याम्पियनसिप सेप्टेम्बरतिर आयोजना हुने प्रशिक्षक शाहीले बताए ।अध्यक्ष सिंहले उपत्यका बाहिरबाट आउने टिमलाई आर्थिक सहयोगको रूपमा ५० हजार प्रदान गरिने बताए ।प्राविधिक निर्देशक निरञ्जन सत्यालले सहभागी टिमलाई दुई समूहमा विभाजन गरेर लिगकम नकआउटका आधारमा प्रतिस्पर्धा गराइने बताए । दुवैबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

