काठमाडौँ । राष्ट्रिय मुक्ति क्रान्ति नेपालका अध्यक्ष राजेन्द्र महतोले कात्तिकको पहिलो हप्ता पार्टी दर्ता गराउने गरी प्रक्रिया थालेका छन् ।राष्ट्रिय मुक्ति क्रान्ति नेपालले बुधबारदेखि सनाखतका लागि जिल्ला जिल्लामा सर्कुलर पठाएको छ । पार्टी दर्ताका लागि कम्तीमा पाँच हजार जनाको हस्ताक्षर चाहिन्छ । दसैँभरि हस्ताक्षर सङ्कलन गर्ने र कात्तिकको पहिलो हप्तातिर पार्टी दर्ता गराउने सो पार्टीका नेता केशव झाले बताए ।झाले भने, ‘आयोगमा दर्ताका लागि सनाखत गराउन कम्तीमा पाँच हजार हस्ताक्षर चाहिन्छ तर १०–१५ हजार हस्ताक्षर सङ्कलन गर्ने लक्ष्य छ ।’ दसैँभरमा विधान, घोषणापत्र तथा हस्ताक्षर सङ्कलनका काम सक्ने तयारी रहेको उनले बताए ।पार्टीको विधान र घोषणापत्रको ड्राफ्ट तयार भइरहेको झाले बताए ।
मंगलबारमात्र राष्ट्रिय मुक्ति क्रान्ति नेपालले ७७ जिल्लाका लागि पार्टीका संयोजक चयन गरेको छ । ती संयोजकले जिल्लामा पार्टीलाई संयोजन गर्ने पार्टीका अर्का नेता सन्तोष मेहताले बताए । उनले भने, ‘जिल्लामा अहिले कुनै समिति बनाउने योजना छैन । एक जना संयोजक राखेर पार्टी संयोजन गर्ने काम गर्छौं ।राष्ट्रिय मुक्ति क्रान्ति नेपालको ७७ वटै जिल्लामा संगठन छ । संयोजकले संयोजन गर्ने आधारमा संगठनका थप काम हुने मेहताको भनाइ छ ।राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टी हुनुभन्दा पहिले नै राष्ट्रिय मुक्ति क्रान्तिको नामबाट देशैभरि अभियान चलाइएको थियो । दुई चरणको कार्यक्रम पनि सम्पन्न भइसकेर तेस्रो चरणको कार्यक्रम गर्ने तयारी भइरहेको नेताहरू बताउँछन् ।

