काठमाडौं । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले राजनीतिक नेतृत्वमा सहमति नहुँदा कतिपय विधेयकहरु अल्झिएको बताएका छन् । संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले राजनीतिक नेतृत्वमा सहमति हुननसक्दा र कानूनी जटिलताका कारण पनि कतिपय वर्तमान संसदले पास गर्नुपर्ने कानूनहरु बन्न नसकेको बताए । उनले नेकपा एमालेले अवरुद्ध गरेको संसद खोल्ने सहमति भएसँगै संसदले गलिशिलताका साथ काम गरेको दाबी गरे । मन्त्री पौडेलले प्रधानमन्त्री निवास बालुवाटारमा सरकारका कामभन्दा बाहेक पार्टीको बैठक बस्न नहुने भएपनि गठबन्धनको बैठकमा प्रधानमन्त्री नै बस्नुपर्ने भएकाले बालुवाटारमा बैठक हुनुलाई सकारात्मक रुपमा लिनुपर्ने बताए ।
नेपाली कांग्रेसकी सांसद सुजाता कोइरालाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको दुई तिहाई बहुमतको सरकार आफ्नै विवादका कारण ढलेको बताइन् । उनले संसदको पाँच वर्षको अवधिमा धेरै उतारचढाव आएको बताइन् । उनले संसदमा नयाँ कुराहरु सिक्ने अवसर पनि पाएको बताइन् ।
त्यस्तै, नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले पाँच वर्षको अवधिमा प्रतिनिधि सभाले मुलुकलाई समृद्ध बनाउने, सुशासन कायम गर्ने सोच पूरा गर्न नसकेको बताए । उनले प्रतिनिधि सभामा सांसद निर्वाचित भएर आउँदा राष्ट्रलाई बलियो बनाउने,जनताका हक अधिकारलाई बलियो बनाउने, देशलाई आर्थिक रुपमा समृद्ध बनाउने र विश्वसामु नेपालको प्रतिष्ठालाई उच्च बनाउने अपेक्षा र चाहना यो संसदबाट पूरा गर्न नसकेको बताए । नेता रावलले पाँच वर्षको अवधिमा संसद विघटन,राष्ट्र हित विपरीतको एमसीसी सम्झौता पास गरी राष्ट्रलाई कमजोर बनाउने काम भएको बताए ।
ADVERTISEMENT