काठमाडौँ । सत्ता साझेदार दल नेपाली कांग्रेसका युवा नेताहरूले आयोजना गरेको ‘युवा सङ्कल्प अभियान’ मङ्गलवार सम्पन्न हुँदैछ । युवा नेता भुपेन्द्रजंग शाहीको नेतृत्वमा भएको अभियान आज धनगढी पुगेको छ । अभियानमा सहभागी नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य विनोद शाही ठकुरीका अनुसार लगभग एक महिने अभियान भोलि अर्थात् मङ्गलवार महेन्द्रनगर पुगेर समापन हुने भएको हो ।
‘भोलि १ बजे महेन्द्रनगरमा कार्यक्रम गरेपछि अभियान सम्पन्न हुनेछ‚’ ठकुरीले धनगढीबाट रातोपाटीसँग भने । कार्तिक २३ बाट झापाको झापाको मेचीनगरबाट अभियानको सुरुवात भएको हो । अभियानका क्रममा किसान‚ उद्यमी‚ खेलाडी लगायत विभिन्न पेसा व्यवसायसँग सम्बन्धित मानिसहरूसँग संवाद गरिएको ठकुरीले बताए ।हामीले पूर्वाधारको अवलोकन गर्यौ, विभिन्न व्यक्तिहरूसँग संवाद गर्यौँ‚’ उनले भने‚ ‘आफ्नो कुरा कम राख्यौँ ।
उहाँहरूकै कुरा बढी सुन्यौँ । उहाँहरूको अपेक्षा तथा गुनासाहरू सुन्यौँ । यसलाई हामीले सङ्गृहीत गरेका छौँ।अभियानको नेतृत्व गरिरहेका नेता भूपेन्द्र शाहीले पनि युवा सङ्कल्प यात्राका विभिन्न सुझाव सन्देशहरू सरोकारवाला निकायमा पुराउने बताए । प्रतिवेदन बनाएर पार्टीलाई बुझाउने उनले जानकारी दिए ।पार्टीलाई मात्र हैन जनताको आवाज प्रधानमन्त्री सम्म पुराउँछौँ । समय लिएर प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउँछौँ‚’ उनले भने ।

