काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपाली गीत, संगीतहरु गुणस्तरीय बन्दै गइरहेका बताएका छन् । सोमबार सुदूरपश्चिम कलाकार समाजले पुस पन्ध्रको अवसरमा काठमाडौँ आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।मन्त्री पाण्डेले नेपाली गीतहरू गुणस्तरीय बन्दै गएका कारण विदेशी गीतहरू विस्थापित हुँदै गइरहेका उल्लेख गरे । उनले सबै समुदायको भाषाको विकास गर्दै लैजानुपर्नेमा जोड दिए । उनले सुदूरपश्चिमको भाषा राष्ट्रियकरण हुँदै गएको समेत बताए । भाषा, साहित्य, संस्कृति र भेषभुषाको विकासमा कलाकारहरूको महत्त्वपूर्ण भूमिका हुने उनको भनाइ छ ।
उनले भने, ‘सुदूरपश्चिमको भाषालाई सिंगो नेपालले सुन्न थालेको छ । यो भाषा मिठो लाग्न थालेको छ । त्यो दूरदराजबाट आज हामीले भाषा, साहित्य, संस्कृति भेषभुषालाई विकास गरी यहाँसम्म ल्याइपुर्याएका छौँ । यसको अझै विकास गर्नुपर्ने छ ।कार्यक्रममा सुदूरपश्चिमका स्थानीय कलाकारदेखि राष्ट्रिय कलाकारहरूले प्रस्तुति दिएका थिए ।

