काठमाडौँ । सरकारले म्यानमार सरकारलाई करिब २७ टन बराबरको राहत सामग्री सहयोग गर्ने भएको छ । बुधवार नेपालबाट परराष्ट्र मन्त्रालयका उच्चपदस्थ कर्मचारीहरू सहितको टोलीले म्यानमार सरकारलाई करिब २७ टन बराबरको राहत सामग्री सहयोग गर्ने भएको हो । त्यसका लागि आज राति नेपाली प्रतिनिधि मण्डल म्यानमार प्रस्थान गर्नेछ । नेपालबाट परराष्ट्र मन्त्रालयका उच्चपदस्थ कर्मचारीहरूले सहभागिता जनाउने र म्यानमारमा राहत सामग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्री डा.आरजु राणाले बताइन्। म्यानमारमा गत शुक्रवार ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो । जसबाट ३ हजार बढीको मृत्यु भएको छ ।
भूकम्पबाट क्षतिग्रस्त म्यानमारलाई सरकारले आवश्यक परेका सामग्रीहरूको सूचि माग गरेको थियो । म्यानमारले उपलब्ध गराएको सूचिअनुसार खाद्यान्न, औषधिहरू, मेडिकल टिमहरू रहेको र आवश्यक राहत सामग्री उपलब्ध गराउन लागिएको बताइन् ।
यसअघि नेपाली सेनाको चिकित्सकको टोली भने म्यानमारमा गइसकेको छ । निजी क्षेत्र र सरकार मिलेर २७ टन सामग्री जम्मा भएको र सोही सामग्री हस्तान्तरण गरिने जानकारी मन्त्री राणाले दिइन् ।मन्त्री राणाले भनिन्, ‘हाम्रो राजदूतावास म्यानमारमा भएको हुनाले त्यहाँको सरकारसँग सम्पर्क गरेर केके सामान तपाईंहरुलाई चाहिन्छ भनेर लिस्ट ल्याउनुभएको थियो, त्यसमा खाद्यान्न, औषधिहरू, मेडिकल टिमहरू माग्नुभएको थियो । मेडिकल टिम नेपाली सेनाले पठाएको छ । त्यो टिम अब दुई दिनपछि मात्रै फर्किन्छ । निजी क्षेत्र र सरकार मिलेर २७ टन सामग्री जम्मा भएको छ । नेपाल सरकारको तर्फबाट यो हस्तान्तरण गर्नेछौँ ।’
हस्तान्तरण गरिने सामग्रीहरूको बारेमा जानकारी दिँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले म्यानमार २०७२ सालमा नेपालमा गएको महाभूकम्पमा सहयोगी राष्ट्र रहेको र सरकारले पनि म्यानमारलाई राहत सामग्री पठाउन लागेको बताए । खाद्यपदार्थ, पकाउन चाहिने भाँडाकुँडा, मेडिसिनहरू, ब्लड ट्रान्सफ्युजन सेट, टेन्टहरू पठाउने जानकारी दिए ।उनका अनुसार २७ मेट्रिक टनभन्दा बढीको सामान आज नेपाल सरकारले म्यानमार सरकारलाई पठाउँदैछ । । यो भन्दा पहिला नेपाली सेनाको इमर्जेन्सी मेडिकल टिम म्यानमारमा गएर काम गरिरहेको बताए । अहिले नेपाल सरकारको तर्फबाट लगभग १ करोड ४० लाखको राहत सामग्री पठाइने बताए ।प्रवक्ता बुढाथोकीले निजी संघ संस्थाको सहयोगका साथै सरकारसँग मौज्दात सामग्रीहरू समावेश गरेर राहत सामग्री पठाउन लागिएको बताए ।

