सुनसरी — विभागीय टिम नेपाल पुलिस क्लब तेस्रो संस्करणको मनमोहन मेमोरियल एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशसँग पहिलो खेलमै पराजित भएको छ । समूह बीको पहिलो खेलमा मंगलबार कोशीले पुलिसमाथि ३७ रनको जित दर्ता गरेको छ । यो जितसँगै कोशीले एक दिवसीय क्रिकेटमा पहिलो पटक पुलिस क्लबलाई पराजित गरेर इतिहास रच्न सफल भएको छ विराटनगर बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको कोशीले निर्धारित ५० ओभरको खेलमा २९ दशमलव ३ बल खेल्दै ९३ रनको सामान्य योगफल बनाउन सबै विकेट गुमाएको थियो कोशीका लागि रुपक बरालले २१ रन बनाउँदा मिनस थापा र सुमन गहतराले समान १५–१५ रन बनाउनु बाहेक अरु ब्याटरले दोहोरो अंकलाई छुन सकेनन् । पुलिसका सुनिल दौल्यानले ५ विकेट लिए । यस क्रममा उनले ८ ओभर बलिङ गर्दा केबल २५ रन मात्र खर्चिए पनि पुलिसको हार टार्न सकेनन् । विपिन कार्की र चित्र विष्टले समान २–२ विकेट लिए ।
जवाफमा ९४ रनको सामान्य लक्ष्य पछ्याएको पुलिसले २४ दशमलव ५ बलमा ५६ रनको लज्जास्पद स्कोरमा समेटियो । पुलिसका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । कोशीको जितमा 'प्लेयर अफ म्याच' प्रेम कामतले ५ विकेट हात पारे । प्रादेशिक टिममा पहिलो पटक डेब्यु गरेका कामतले ९ ओभर बलिङ गर्दै केबल १५ रन मात्र खर्चिएर पुलिसको महत्त्वपूर्ण विकेट हात पारेका हुन् ।
अर्का बलर प्रकाश कार्कीले ३ विकेट लिए । खेलको प्लेयर अफ दि म्याच प्रेम कामतले नगद ४ हजार पाए । यो जितसँगै समूह बीमा रहेको कोशीले महत्त्वपूर्ण दुई अंक हासिल गरेको छ । समूह 'ए'बाट त्रिभुवन आर्मी यसअघि नै फाइनल पुगिसकेको छ । बुधबार समूह बीको दोस्रो लिग खेल कोशी प्रदेशले भारतको आसाम क्लबको सामना गर्नेछ ।यो खेलमा जित हात पारे कोशीले आर्मीसँगको उपाधि भीडन्त पक्का गर्नेछ । एमएम कप फाउण्डेसन सुनसरीको आयोजनामा जारी प्रतियोगिताको फाइनल खेल वैशाख २० गते हुनेछ । फाइनल खेलका विजेताले नगद चार लाख र उपविजेताले दुई लाख र ट्रफी पाउने छन् ।

