काठमाडौँ । नेकपा एकीकृत समाजवादी की सांसद गोमादेवी तिमिल्सिनाले पाथीभरामा केबलकार निर्माण गर्न दिन नहुने बताएकी छन् । बुधबार सिंहदरबारमा बसेको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले पाथीभरामा केबलकार निर्माण गर्न सरकारले निकुञ्जको पनि प्रयोग गर्न दिएको र यस्ता कुराहरू रोक्नुपर्ने बताइन् । उनले आवश्यक परेका ठाउँमा बाहेक अन्य ठाउँमा केबलकार बनाउन दिन नहुने बताइन् । उनले पाथीभरा केबलकार पनि बनाउन आवश्यक नरहेको समेत बताइन् ।
उनले भनिन्,‘यो केबलकार निर्माणको कुरा छ । केबलकारको कुरा गर्दा सरकारलाई बनाउन मन लाग्यो भने पाथीभरामा निकुञ्जबाट नै छुट्टै राखेर त्यहाँ एउटा उद्योगपति, व्यापारीलाई सरकारले त्यहाँ बनाउनलाई दियो । जनताले नमान्दा नमान्दै । हामीले पनि धेरै कुरा बोल्यौँ तर सुनेन । सरकारले यस्तो गर्न सक्छ । तर यस्तो गर्दछ भनेर हामीले छोड्न सक्दैनौँ । वन्यजन्तु, स्थानीयलाई कुनै क्षति नहुने गरी दिनुपर्छ । पाथीभरामा दिन जरुरी छैन । मुक्तिनाथमा केबलकार पोखराबाट लैजाने भनेर पास गरिसके रे । त्यही टिमले । गाडी त्यहीँसम्म पुग्छ, केबलकारको आवश्यकता छैन ।

