काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सिंहदबारभित्र निर्माणधीन नयाँ संघीय संसद् भवनको निरीक्षण गरेका छन् । बिहीबार सभामुख घिमिरे, राष्ट्रिय सभा अध्यक्ष दाहालसहित संघीय संसद्का पदाधिकारीले सिंहदरबारमा निर्माणाधीन नयाँ संघीय संसद भवनको निरिक्षण गरेका हुन् निरीक्षणसँगै उनीहरूले निर्माणाधीन संसद् भवनको कार्यप्रगति बारे जानकारी लिएका छन् । निरिक्षणपछि संघीय संसदका पदाधिकारीहरूले निर्माणाधीन नयाँ संसद् भवनमा गतिका साथ काम भइरहेको पाइएको प्रतिक्रिया दिए । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठक चैत्र–बैशाखमा सञ्चालन गर्ने गरि निर्माण कार्यलाई अघि बढाउनुपर्ने बताए ।
राष्ट्रियसभा बैठक तत्काल बस्नका लागि अरु नै प्रवन्ध गर्नुपर्ने देखिएको उनले बताए । सभामुख घिमिरेले समयमा नै निर्माण सम्पन्न भए संसदीय गतिविधिलाई अघि बढाउन सहज हुने धारणा राखे । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले मंसिरभित्र राष्ट्रियसभाको अधिवेशन बोलाउने तयारी भइरहेकाले हालका लागि कृषि समितिको हलबाट सभा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए ।प्रतिनिधिसभाका लागि तत्कालै हल आवश्यक रहेकाले नयाँ संसद भवनको निर्माणलाई गतिका साथ अघि बढाउनुपर्ने उनको भनाइ छ ।
नयाँ संसद् भवन तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७६ असोज १६ गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।तोकिएको समयमा काम नसकिएपछि पछिल्लो पटक पाँचौँ पटकका लागि २०८२ पुस १६ गतेसम्म म्याद थप गरिएको छ । सङ्घीय संसद्का दुवै सदन, संसदीय समितिहरू र संसदीय दलका कार्यालयसमेत रहने गरी १२ वटा ब्लक सहितको नयाँ संसद् भवनको संरचना निर्माण भइरहेको छ ।

