गोरखा । लाइन बिस्तार भएको करिब चार वर्षपछि लाप्राकमा केन्द्रीय प्रसारणलाइनको बिजुली बलेको छ ।धार्चे गाउँपालिका-४ मा पर्ने उक्त बस्तीमा बिहीबारदेखि विद्युत् प्रवाह गरिएको नेपाल विद्युत् प्राधिकरण गोरखा वितरण केन्द्रले जनाएको छ ।आज वडा कार्यालयमा मिटर बक्स जडान गरेर बिजुली बाल्यौं,’ कार्यालय प्रमुख चीजबहादुर गुरुङले भने, ‘बस्तीका घरधुरीमा मिटर जडानको काम भइरहेको छ ।बक्स जडान भएसँगै घरघरमा बिजुली बल्ने उनले बताए ।उनका अनुसार पहिलो चरणमा ६० घरधुरीमा मिटर बक्स जडान हुने छन् । जडानका लागि दुई जना प्राविधिक खटाइएको छ ।निवेदनको आधारमा मिटर बक्स जडान गर्न लागिएको जानकारी गराउँदै उनले भने,हालसम्म ८० वटा निवेदन परेका छन्,बाँकी संकलन हुँदैछ ।
भूकम्प पश्चात गुप्सीपाखामा निर्माण भएको एकीकृत नमुना बस्ती र लाप्राकको पुरानो गाउँका सबै घरधुरीमा मिटर जडान गरिने उनले बताए । लाप्राकमा मात्रै करिब ६ सय घुरधुरी छन् ।करिब चार वर्षअघि नै ११ केभी क्षमताको लाइन बिस्तार भएको लाप्राकमा विद्युत् प्रवाह भने भएको थिएन ।आवश्यक मर्मतसहित वितरण लाइन निर्माणको काम सम्पन्न गरेर बिहीबारदेखि विद्युत् प्रवाह गरिएको कार्यालय प्रमुख गुरुङले बताए । सिरानचोक गाउँपालिका–२ थालाजुङको ठूलस्वाँरास्थित सबस्टेसनबाट विद्युत् प्रवाह गरिएको उनले जानकारी दिए ।विद्युत् प्रवाहका लगि तीन वटा ट्रान्सफर्मर राखिएको छ । गुप्सीपाखामा १०० केभीए क्षमताको एउटा र पुरानो बस्तीमा ५०/५० केभीए क्षमताको दुई वटा ट्रान्सफर्मर राखिएको उनले बताए ।
हाल लाप्राकीले लघुजलविद्युतबाट बिजुली बाल्दै आएका छन् । २० र २६ किलोवाटको दुई वटा लघुजलविद्युत् भए पनि पावर नपुग्ने स्थानीयको गुनासो छ । अबका दिनमा समस्या नहुने विद्युत् प्राधिकरणले जनाएको छ ।‘लघुजलविद्युतबाट बिजुली बाल्दा पावर नपुग्ने, वाइफाइ नचल्ने जस्ता समस्या थियो, अब केन्द्रीय लाइनको बिजुली बालेपछि त्यो समस्या आउँदैन,’ गोरखा वितरण केन्द्र प्रमुख गुरुङले भने । प्राधिकरणका गण्डकी प्रादेशिक कार्यालय प्रमुख विक्रमकुमार अमात्य र वडाध्यक्ष किसान गुरुङले संयुक्त रूपमा वडा कार्यालयमा बिजुली बालेर केन्द्रीय प्रशारण लाइनको उद्घाटन गरेका छन् ।

