काठमाडौँ — जेन-जीका विभिन्न २३ समूहले प्रधानमन्त्री सुशीला कार्कीलाई फिर्ता बोलाउन भन्दै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष माग गरेका छन् ।राष्ट्रपति कार्यालयमा बिहीबार ज्ञापनपत्र बुझाएर जेन-जीका २३ समूहले प्रधानमन्त्रीबाट कार्कीलाई हटाउनुपर्ने माग गरेका हुन् । प्रधानमन्त्रीका रूपमा कार्कीले भदौ २३ र २४ को विद्रोहको म्यान्डेटअनुसार काम गर्न नसकेको आरोप ज्ञापनपत्रमा लगाइएको छ ।
विभिन्न पाँचवटा माग रहेकोमा ती पूरा गराउन नसकेको ज्ञापनपत्रमा भनिएको छ । मुलुकमा भएका ठूला भ्रष्टाचारका प्रकरणमा संलग्नलाई कारबाही, प्रत्यक्ष जननिर्वाचित प्रधानमन्त्रीको लागि संविधान संशोधन, यस विद्रोहमा भएको नरसंहारमा सलग्नमाथि कारबाही, जेन-जी विद्रोहका घाइतेहरूको उपचार तथा जेन-जी विद्रोहका सहिद परिवारलाई उचित क्षतिपूर्ति र भरणपोषणको माग रहेकोमा कुनै पनि पूरा गराउन नसकेको ती समूहको दाबी छ ।
'विद्रोहको जगमा बनेको सरकारले विद्रोहीका न्यूनतम अपेक्षा पूरा गर्नुको सट्टा सबै अपेक्षालाई बेवास्ता गर्दै केवल एक थान चुनाव मात्र गराउने गरी सरकार दिशाहीन अवस्थामा रहेको पाइयो । यो विद्रोर र शहादत केवल अर्ली इलेक्सनको लागि भएको थिएन,' ज्ञापनपत्रमा भनिएको छ, 'तसर्थ, हामी उक्त विद्रोहमा संलग्न जेन-जीका २३ एलाइन्स, घाइते र शहीद परिवार यो सरकारले तत्काल विद्रोही पक्षका माग सम्बोधन गर्नु पर्दछ । अन्यथा यदि यो सरकारले विद्रोही पक्षका माग पूरा गर्न सक्तैन भने यो सरकारलाई फिर्ता बोलाई हाम्रो नेतृत्वमा नयाँ सरकार गठनको लागि मध्यस्थताको भूमिका निर्वाह गर्न सम्माननीयज्यूसमक्ष निवेदन गर्दछौं ।'

