काठमाडौँ । जनमत पार्टीका कोशी प्रदेश इन्चार्ज बुद्धि न्योपाने र सुदूरपश्चिम प्रदेशका इन्चार्ज प्रेम चौधरी नागरिक उन्मुक्ति पार्टी नेपाल प्रवेश गरेका छन् । सिनामंगलस्थित पार्टी कार्यालयमा जारी केन्द्रीय समितिको बैठक चलिरहँदा उनीहरूलाई पार्टी प्रवेश गराइएको सो पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खाँले बताए । उनीहरूको साथमा जनमत पार्टीका प्रदेश, जिल्लास्तरीय अन्य नेताहरू पनि आएका खाँले जानकारी दिए । पार्टीको बैठकले संगठन विस्तारमा जोड दिएको उनको भनाइ छ ।
रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबाट अलग भएर रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टी नेपाल गठन गरेका छन् । सोही पार्टीको दुई दिनदेखि प्रशिक्षण तथा बैठक चलिरहेको छ । बैठक आज सम्पन्न हुने उनले बताए ।
खासगरी यो बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावको तयारीबारे छलफल गरेको छ । समानुपातिक सूचीदेखि अन्य प्रत्यक्ष उम्मेदवार चयनको विषयमा पनि छलफल भएको उनले जानकारी दिए । पार्टीले जिल्ला, प्रदेशमा कार्यालय स्थापनाका साथै संगठन विस्तार तथा निर्माण जोड दिने छलफल भएको उनले बताए ।

