काठमाडौँ । मन्त्री कुलमान घिसिङको उज्यालो नेपाल पार्टीको प्रवक्ताको जिम्मेवारी डा.राजु थापालाई दिइएको छ । शनिबार काठमाडौँमा बसेको केन्द्रीय समितिको बैठकले थापालाई प्रवक्ताको जिम्मेवारी दिएको केन्द्रीय सदस्य जितराम लामाले जानकारी दिए । उनका अनुसार उज्यालो नेपाल पार्टीले हालै निर्वाचन आयोगबाट आधिकारिता पाइसकेको छ । आधिकारिता पाएसँगै बसेको केन्द्रीय समिति बैठकले कानुन व्यवसायी समेत रहेका थापालाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।
पार्टीले मान्यता पाएकाले चाँडै पार्टीको औपचारिक रूपमा बृहत् घोषणासभाको तयारी भइरहेको समेत लामाले जानकारी दिए । उनका अनुसार पार्टीले अहिले विभिन्न नीति र पार्टीका घोषणापत्र लेख्ने लगायतका काम भइरहेको छ ।
बैठकले आगामी फागुन २१ गते हुने निर्वाचनको लागि १६५ प्रत्यक्ष निर्वाचन क्षेत्र र ११० समानुपातिकका उम्मेदवारको लागि आवेदन दिने निर्णय गरे छ । उज्यालो नेपाल पार्टीबाट उम्मेदवार बन्न चाहनेहरुको लागि सार्वजनिक रूपमा नै सूचना जारी गरी उम्मेदवार छनोट गर्ने तयारी समेत पार्टीले गरेको छ । पार्टीका प्रवक्ता डा. थापाले आगामी निर्वाचनको तयारीका लागि वैकल्पिक शक्तिहरूलाई एकीकृत बनाएर लैजाने विषयमा छलफल सुरु गरिएको बताए । उनले पार्टीले वैकल्पिक शक्तिहरू मिलाएर लैजाने विषयमा अहिले आवश्यक गृहकार्य गरिरहेको समेत जानकारी दिए ।५१ सदस्यीय केन्द्रीय समिति रहेको उज्यालो नेपाल पार्टीको अध्यक्षमा पूर्व उर्जासचिव अनुपकुमार उपाध्याय रहेका छन् । पार्टीको चुनाव चिह्न भने बलेको चिम रहेको छ ।

