वीरगञ्ज - राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (एन प्याब्सन) पर्साले आगामी भदौ ६ गते (शुक्रबार) हुने भनिएको ९औं जिल्ला तथा २औं नगर अधिवेशन स्थगित गर्ने निर्णय गरेको छ।
संघका केन्द्रीय संस्थापक सदस्य तथा केन्द्रीय वरिष्ठ उपाध्यक्ष रामविनय चौरसियाले जारी गरेको प्रेस विज्ञप्तिमा विद्यालय सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०८० मा निजी लगानीका विद्यालयहरूविरुद्ध अव्यावहारिक प्रावधान समावेश गरिएको भन्दै आपत्ति प्रकट गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “सरकारले सरोकारवालाको सुझाव बेवास्ता गरेर विधेयक अगाडि बढाएको विषयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।”
चौरसियाले सरकारले सरोकारवालासँग व्यापक छलफल गरेर मात्र विधेयक अघि बढाउनुपर्ने माग राखेका छन्। साथै, देशभरका निजी विद्यालयहरूले सुरू गरेको आन्दोलनलाई सघाउन र हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै केन्द्रीय समितिको निर्देशन तथा संस्थापक प्राचार्यहरूको सल्लाहअनुसार अधिवेशन अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको उनले जानकारी दिए।

