काठमाडौं । सरकारी तथा निजी दुवै क्षेत्रमा प्रयोगशाला सेवाको सुधारका लागि आवश्यक नीतिगत तथा प्रशासनिक पहल गर्न आग्रह गर्दै मेडिकल ल्याब एसोसिएन अफ नेपाल (मेलान) ले कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।केन्द्रीय अध्यक्ष राजेन्द्र खड्का र कर्णाली प्रदेश अध्यक्ष दयाराम पंगालीले संयुक्त रूपमा बुझाएको पत्रमा प्रयोगशाला क्षेत्रसँग सम्बन्धित समसामयिक मुद्दा समेटिएका छन् ।
सरकारी स्वास्थ्य सेवामा प्रयोगशाला दरबन्दी विस्तार, निजी क्षेत्रमा कार्यरत जनशक्तिको न्यूनतम पारिश्रमिक र जोखिम भत्ताको व्यवस्था, जनशक्तिको लोकसेवा आयोगमार्फत पदपूर्ति, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको सुदृढीकरण र सशक्तिकरण जस्ता महत्वपूर्ण मागहरू उठाइएका छन् ।साथै, प्रयोगशाला स्थापना तथा सञ्चालन मापदण्डहरू समयानुकूल परिमार्जन गर्ने, सेवाको वैज्ञानिक शुल्क निर्धारण गर्ने विषय माग गरिएको छ ।

