काठमाडौँ कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोग निर्वाचनको तयारीमा धेरै अगाडि बढिसकेको र तोकिएको मितिमा चुनाव हुनेमा कुनै द्विविधा नरहेको बताएका छन् ।आयोगमा आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचन हुँदैन कि भन्ने आशंका नपाल्न आग्रह गरेका छन् । 'निर्वाचन हुन्छ कि हुँदैन यो बहसबाट आयोग अगाडि बढिसक्यो । निर्वाचन हुँदैन भन्ने शब्द हाम्रो डिक्सनरीबाट हटिसक्यो । चुनाव हुन्छ,उनले भने,आयोग निष्ठा र अठोटका साथ अघि बढेको छ । धेरै तयारी गरिसक्यौं ।
कुनै पनि राजनीतिक दलले निर्वाचनमा भाग लिन्नौँ नभनेकाले धेरैको सहभागितामा चुनाव हुने उनले उल्लेख गरे ।निर्वाचनको विकल्प निर्वाचन नै हो भन्दै उनले अब नयाँ जनप्रतिनिधि संसद्मा पठाउन सबैलाई जुट्न आग्रह गरे । निर्वाचनको कार्यतालिकामा कुनै हेरफेरसमेत नहुने उनले बताए । १३ र १४ पुसमा दलहरूले समानुपातिकतर्फको बन्द सूची बुझाउनुपर्ने उनले बताए ।निर्वाचन आयोग कुनैपनि विषयमा कठोर नभएको तर २१ फागुनको चुनाव प्रभावित हुनेगरी कुनै कार्य नगर्ने उनले बताए । त्यही भएर चुनावको कार्यलिका हेरफेर नहुने उनले बताए ।

