बाँके राष्ट्रिय निकुञ्जको सिमा क्षेत्र सल्यानमा बाघले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ । निकुञ्जको मध्यवर्ती क्षेत्र पर्ने सल्यानको कालीमाटी गाउँपालिका वडा नम्बर ७ घुईयाबारी नजिक पर्सेनी घरभएकी ४२ वर्षीया धनसरी रावतको मृत्यु भएको हो । दाउरा काट्न गएका बेला बाघको आक्रमणबाट उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।ति महिला शुक्रबार बिहान ८ बजे घरदेखि नजिकै हरियाली सामुदायिक वनमा दाउरा काट्न गएकी थिइन् । शुक्रबार दिउँसो साढे ३ बजेतिर बाघले आक्रमण गरी जंगलतिर घिसार्दै लगेको स्थानीयले बताएका छन् । घटना लगत्तै प्रहरी र निकुञ्ज सुरक्षार्थ नेपाली सेनाको टोलीले खोजी गर्दा घरदेखि ५ सय मिटर पर झाडीमा शव फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी हेमबहादुर केसीका अनुसार बाघले एउटा खुट्टा खाएको अवस्थामा शव फेला परेको छ । कालीमाटी–७ का वडाअध्यक्ष मित्रलाल रिजालले बाँके राष्ट्रिय निकुन्ज नजिकै भएकाले जंगलमा दैनिकजसो बाघ देखिने गरेको बताएका छन् । बाघको त्रासका कारण यहाँका गाउँहरु उच्च जोखिममा रहेका छन् ।
बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बीरेन्द्रप्रसाद कँडेलले सल्यानमा पनि बाघले महिलालाई मारेको घटना जानकारीमा आएको बताए । २०६७ सालमा स्थापना भएको बाँके राष्ट्रिय निकुञ्ज बाँकेसहित दाङ र सल्यान जिल्लासम्म फैलिएको छ ।अघिल्लो शनिबार बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ सौरी निवासी ६१ वर्षीय मरिचमान भण्डारीको बाघको आक्रमणबाट मृत्यु भएको थियो ।
उक्त घटना भएको चार दिनपछि पनि बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको बाघले आक्रमण गर्दा सुर्खेतको भेरीगंगा नगरपालिका–५ की ५७ वर्षीया गंगा सारूको मृत्यु भएको थियो । बाँसगढी नगरपालिका वडा नम्बर १ सँग सीमा जोडिएको सुर्खेतको शक्ति सामुदायिक वन क्षेत्रमा महिलाको शव भेटिएको थियो ।
ADVERTISEMENT

