वीरगञ्ज — पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा चार सयभन्दा बढी जेन्जी युवाहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
शनिबार वीरगञ्जस्थित रोयल पार्टी प्यालेसमा आयोजित पार्टी प्रवेश कार्यक्रममा जेन्जी युवा नेता परबेज सेखको नेतृत्वमा कमलेश पटेल, रञ्जित साह कलवार, साहिल सेख, सन्नी अली, आनन्द चौहान, अजय पण्डित, सेख अल्ताफ, प्रियन्जन यादव, सञ्जीत साह, दानिश सेखलगायत चार सयभन्दा बढी युवाहरू रास्वपामा प्रवेश गरेका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी युवा नेता परबेज सेखले राष्ट्रिय स्वतन्त्र पार्टीले मात्र देशमा वास्तविक परिवर्तन ल्याउन सक्ने दाबी गरे। पर्साका जेन्जी युवाहरू परिवर्तनको पक्षमा उभिएको उल्लेख गर्दै उनले आगामी निर्वाचनमा रास्वपालाई विजयी गराउन सम्पूर्ण जेन्जी युवा शक्ति सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरे।
उनले जेन्जी युवा नेताहरू सुदन गुरुङ, पुरुषोत्तम यादवलगायत प्रमुख जेन्जी नेताहरू पहिल्यै रास्वपामा प्रवेश गरिसकेको स्मरण गराउँदै जेन्जी आन्दोलनलाई सम्बोधन गर्न सक्ने पार्टी रास्वपा मात्रै भएकाले आफूहरूको रोजाइ यही पार्टी बनेको स्पष्ट पारे।
कार्यक्रमलाई सम्बोधन गर्दै रास्वपाका पर्सा जिल्ला सभापति तथा पर्सा क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हरि पन्तले जेन्जी युवाहरू पार्टीको सबैभन्दा ठूलो शक्ति र सम्पत्ति भएको बताए। युवाहरूको साथ र विश्वासले आफू ढुक्कका साथ निर्वाचन जित्ने दाबी गर्दै उनले चुनावमा हुने पैसाको चलखेललाई कानुनी र नैतिक तरिकाले रोक्न युवाहरूले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए।
कार्यक्रम रास्वपा वीरगञ्ज महानगर सभापति अमन आलमको सभापतित्वमा सम्पन्न भएको थियो।

