शेखर पक्षका विद्यार्थी र युवाले कांग्रेस कार्यालयमा प्रदर्शन गर्ने
zeenepal
२०७९ असार २६,
3
Shares
काठमाडौं २६ असार। नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षधरले भ्रातृ संस्थाको कार्यसमिति पूर्णताको माग गर्दै विरोध प्रर्दशन गर्ने भएको छ । नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ लगायतका भ्रातृ संस्थाका शेखर पक्षका नेता तथा कार्यकर्ताले विरोध प्रदर्शनको तयारी गरेका हुन् ।
कांग्रेस केन्द्रीय समितिको वैठक सोमबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ । उक्त वैठकको समयमा पार्टी कार्यालय बाहिर शेखर पक्षका विद्यार्थी, युवा लगायतले प्रदर्शनको तयारी गरेका हुन् ।अवधि समाप्त भएपछि केन्द्रीय कार्यसमिति भंग गरिएका भ्रातृ संस्था वैधानिक विधिबाट पूर्णताको माग गर्दै प्रदर्शन गर्न लागिएको शेखर निकट विद्यार्थी संघकी नेता प्रेमिका रानामगरले जानकारी दिइन् यस विषयमा छलफल गर्न आइतबार दिउँसो ३ बजे भ्रातृ संस्थाको संयुक्त बैठक डाकिएको सोही पक्षका विद्यार्थी नेता भुवन भट्टले बताए । बैठक बागबजारस्थित पद्मकन्या क्याम्पसमा बोलाइएको छ ।
फागुन १० मा बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले अवधि पूरा भएका १० भ्रातृ संस्थाको केन्द्रीय कार्यसमिति भंग गरेको थियो । सभापति शेरबहादुर देउवाले चारवटा भ्रातृ संस्थाको मूल नेतृत्व मात्रै मनोनित गरेका छन् । ‘वैधानिक तबरले पदाधिकारीसहित पूर्ण कार्यसमिति माग गरेका छौं’ विद्यार्थी नेता रानामगरले भनिन्, ‘सबै भ्रातृ संस्था भताभुंग छन् । पार्टीलाई दबाव दिन विरोध प्रदर्शन गर्न लागेका हौं ।’
नेविसंघ, तरुण दल, प्रजातन्त्र सेनानी संघ, किसान संघ, आदिवासी जनजाति संघ, लोकतान्त्रिक अपांग संघ, तामाङ संघ, ठाकुर समाज, महिला संघ र भूतपूर्व सैनिक संघको केन्द्रीय कार्य समिति फागुन ३ मा भंग गरिएको थियो ।सभापति देउवाले नेविसंघको अध्यक्षमा दुजाङ शेर्पा, तरुण दलमा विद्धान गुरुङ, किसान संघमा गणेश तिमिल्सिना र आदिवासी जनजाति संघमा ओमबहादुर थापालाई मनोनित गरेका छन् । छ वटा भ्रातृ संस्थाको मूल नेतृत्व खाली छ ।
फागुन मसान्तभित्र सबै भ्रातृ संस्थालाई सभापति देउवाले पार्टीमा परामर्श गरी पूर्णता दिने केन्द्रीय समितिले निर्णय गरेको थियो । गठन हुन नसकेका सबै भ्रातृ संस्थामा पार्टीको फरक समूहलाई पनि सम्मानजनक हैसियत प्रदान हुनुपर्ने मागलाई प्रमुखताका साथ उठाउने शेखर पक्षका तरुण दलका नेता दिनेश राईले बताए ।
शेखर पक्षको दुई दिने बैठकको निर्णय अनुसार नै संस्थापन पक्षलाई दबाव बढाउन विरोध प्रर्दशन गर्न लागिएको भ्रातृ संस्थाका नेताहरुले बताएका छन् । शेखर पक्षको बैठकले १४ औं महाधिवेशनमा प्राप्त मतका आधारमा पार्टीमा ४० प्रतिशत हिस्सेदारी खोज्ने निर्णय गरेको थियो ।केन्द्रीय समितिमा आफ्नो पक्षको रणनीति तय गर्न शेखर पक्षका पदाधिकारी र केन्द्रीय समिति सदस्यको बैठक बोलाइएको छ ।